समाज

व्यवसायीले निकुञ्जकसँग मागे हात्तीलाई घाँस

चितवनको सौराहामा निजी क्षेत्रबाट पालिएका हात्तीका लागि चितवन राष्ट्रिय निकुञ्जभित्रको घाँस उपलब्ध गराउन व्यवसायीले माग गरेका छन्। निकुञ्जभित्र खेर जाने घाँस निश्चित क्षेत्रमा काटेर ल्याउन दिए निजी हात्तीको व्यवस्थापन सहज हुने उनीहरूको भनाइ छ।

१५औं अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा आयोजित कार्यक्रममा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले निजी हात्तीका लागि चरिचरणको व्यवस्था गर्न माग गरे। धान, पराल लगायतका खाना दिने गरिए पनि हरियो घाँस सहज रूपमा उपलब्ध हुन नसकेको उनले बताए। ‘निजी हात्तीलाई चरिचरणको क्षेत्र कम छ। हाम्रा हात्तीले पेटभरि हरिया घाँस खान पाएका छैनन्,’ उनले भने, ‘राज्यले निश्चित रकममा खेर जाने घाँस काट्न दिने नियम बनाउनुपर्दछ।’

सहकारी संस्थाका निवर्तमान अध्यक्ष ऋषि तिवारीका अनुसार अहिले सौराहामा करिब ५५ वटा निजी हात्ती छन्। करिब १० वर्षअघि निजी हात्तीको संख्या ७० हाराहारीमा थियो। ‘हामीले २० वर्षदेखि निजी हात्तीका लागि घाँसको व्यवस्थापन गरिदिन अनुरोध गर्दै आएका छौं’, तिवारीले भने, ‘निकुञ्जको निश्चित क्षेत्रमा माउतेलाई पठाएर घाँस काट्न दिने व्यवस्था गरिए त्यसको शुल्क तिर्न व्यवसायी तयार छन्।’

उनका अनुसार एउटा हात्ती पाल्न मासिक एक लाख २० हजारजति खर्च हुन्छ। एउटा हात्तीलाई दैनिक १५ देखि २० किलो धान, ठूलो परिमाणमा पराल, सक्खर र अन्य खाद्य सामग्री आवश्यक पर्ने उनले बताए।

हरियो घाँस नपाउँदा पराल खरिद गरेर खुवाउनुपरेको र पौष्टिक खानाको अभावले हात्तीमा स्वास्थ्य समस्या देखिन सक्ने व्यवसायीको भनाइ छ।

तिवारीले पर्यटकीय गतिविधिसँग नजोडिएको भए निजी हात्ती पाल्न कठिन हुने बताए। कोरोना महामारीका बेला पर्यटक नआउँदा हात्ती पाल्न नसकेर छाड्ने अवस्थामा पुगेको स्मरण गर्दै उनले पर्यटनबाट हुने आम्दानीले हात्तीको संरक्षणमा सहयोग पुगेको बताए।

हात्ती व्यवसायी नगेन्द्र चापागाईंले निकुञ्ज क्षेत्रमा खेर जाने घाँस व्यवस्थित रूपमा उपलब्ध गराउन सके निजी हात्ती पाल्न सहज हुने बताए।

उनका अनुसार अहिले निजी हात्तीले हरियो घाँस सहज रूपमा खान नपाउँदा व्यवसायीले बाहिरबाटै घाँस र परालको व्यवस्थापन गर्दै आएका छन्। अहिले हात्तीको बिमासमेत छैन। एउटा हात्तीको मृत्यु भएमा डेढ करोड रुपैयाँ बराबर क्षति हुने व्यवसायीको भनाइ छ। पालनपोषण राम्रो नहुँदा हात्तीमा रोगसमेत देखापर्दै आएको उनले बताए। चितवन घुम्न आउने पर्यटकलाई घुमाउन निजी हात्ती मात्र प्रयोग गरिन्छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुनमगरले हात्तीको कल्याण र व्यवस्थापनका विषयमा देखिएका समस्या समाधानका लागि निकुञ्जले पहल गर्ने बताए।

हात्तीको जीवनचक्र र आवश्यकता बुझेर व्यवस्थापन गर्नुपर्ने भन्दै उनले निजी तथा सरकारी दुवै हात्तीको कल्याणमा ध्यान दिनुपर्ने बताए। ‘हामीले हात्ती पाल्न थालेको ४० वर्षजति भएको छ। सय वर्ष बाँच्ने हात्तीको आनिबानीबारे अझै पूर्ण रूपमा जानाकारी हामीलाई छैन’, उनले भने, ‘हात्तीको आवश्यकता बुझेर यसको व्यवस्थापनमा हामी लाग्नुपर्दछ।’ 

प्रकाशित: २८ श्रावण २०८३ ११:५९ बिहीबार