चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल स्थित त्रिशुली नदीमा डेढ वर्षअघि खसेको गणपति डिलक्स बस फेला परेको छ ।
आइतबार बिहान केही भाग देखिएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तीन दिन लगाएर उत्खनन गरिरहेका छन्। सो बस डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको गणपति डिलकस बस नै रहेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उनका अनुसार उत्खनन् गदा गणपति डिलक्स लेखिएको भाग फेला परेको हो । उनका अनुसार त्यस ठाउँमा अझै उत्खनन् कार्य भइरहेको छ ।
२०८१ असार २८ मा वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०११ ख २४९५ नम्बरको गणपति बस लेदोसहितको पहिरोमा पुरिएर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए । तीमध्ये ३ जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए । सो दुर्घटनापछि नारायणी नदीमा २४ जनाको शव भेटिएको थियो । ती शवमध्ये १९ जना यात्रुको मात्र शव यात्रुको रहेको पुष्टि भएको थियो । नारायणीमा फेला परेका अन्य पाँच वटा शवको पहिचान हुन सकेको थिएन । अझै ४३ यात्रु वेपत्ता छन् । सरकारले बेपत्ताहरुलाई मृतक सरह राहत उपलब्ध गराएको छ । दुई वटा बसमा सबैभन्दा बढी रौतहट जिल्लाका नागरिक थिए । यस जिल्लाका २७ जना यात्रु बेपत्ता भएका थिए । त्यस्तै भारतका १०, पर्सा जिल्लाका १०, बाराका ६, सर्लाहीका ४, चितवनका २ भक्तपुरका १, सिन्धुपालचोकका १ जना व्यक्ति बेपत्ता भएको प्रशासनको तथ्यांकमा उल्लेख छ ।
दुर्घटनामा परेपछि भारतको राष्ट्रिय आपदा मोचन बल (एनडिआरएफ) को १२ जनाको टोली नेपाल आएर खोजि कार्य गरेको थियो । एक सातासम्म उच्च प्रविधि सहित खोजविन गर्दा नभेटिएपछि भारतीय टोली फर्किएको थियो । त्यतिखेर भारतीय टोलीले दुई वटा पोइन्ट लोकेटेट गरेको थियो । खोजिकार्यका लागि आधुनिक किसिमको वाटरड्रोन (सोनार क्यामेरा), ड्रोन क्यामेरा, र्याफ्टिङ बोट, मोटरबोट, चुम्बक, फलामको हुक लगायतका प्रविधिहरु प्रयोग गरिएको थियो । खोजीको क्रममा एनडिआरएफले ल्याएको १९ किलाको चुम्बक त्रिशूली नदीमा समेत हराएको छ ।
उसले घटना स्थल सिमलतालदेखि गाइघाटसम्मको तीन किलोमिटरलाई शंकाको घेरामा राखेको थियो । सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता र बसको खोजीका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले निरन्तर खोजी गरिरहेको थिए ।
प्रकाशित: २९ पुस २०८२ १६:४४ मंगलबार