ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब १०ः३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाइओभरको भित्तामा ठोक्किएपछि दुर्घटना भएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार दुर्घटनामा दोलखाको शैलुङ गाउँपालिका घर भएकी ४० वर्षीया जेनिसा लामाको मृत्यु भएको हो। गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा १९ जना घाइते भएका छन्। बि एण्ड बी अस्पतालमा १० र ग्लोबल अस्पतालमा ९ जनाको उपचार भइरहेको प्रहरीको भनाइ छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार प्रारम्भिक अनुसन्धानमा बस तीव्र गतिका कारण अनियन्त्रित भई फ्लाइओभरको भित्तामा ठोक्किएको देखिएको छ।
प्रहरीले बस चालक काभ्रेको तेमाल गाउँपालिका–३ घर भएका ३६ वर्षीय लाक्षी तामाङलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
(*घाइतेको संख्या अपडेट भएको- सम्पादक)
प्रकाशित: २१ श्रावण २०८३ १२:०४ बिहीबार