पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका आरोहीहरूको खोजीका क्रममा चार जनाको शव फेला परेको छ। तीमध्ये दुई जनाको पहिचान खुलेको जनाइएको छ।
अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) का अध्यक्ष मेजर जनरल इरफान अर्शदले दुई जनाको पहिचान ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङको रूपमा भएको जानकारी दिएको पाकिस्तानस्थित डन अखबारले जानकारी दिएको छ। एसीपीका अनुसार ब्रोड पिकमा हिमपहिरो गएपछि प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा र पाकिस्तानी पर्वतारोही सोहेल सखीसहित १० जनाको टोली बेपत्ता भएको थियो। बेपत्ता हुने १० सदस्यीय टोलीमा ६ जना नेपाली पर्वतारोही, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र चीनका एक पर्वतारोही रहेका छन्।
नेपालका पर्वतारोहीहरूको पहिचान पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको रूपमा गरिएको छ। यसैगरी, बाँकी पर्वतारोहीहरूमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सखी, चीनकी वाङ झोङ र संयुक्त राज्य अमेरिकाकी मलोरी गीस रहेका थिए।
उद्धार कार्यलाई सहयोग गर्न पाकिस्तान आर्मी एभिएसनका दुई उद्धार हेलिकप्टरहरू, उद्धार कर्मचारीहरू र थप विशेष उपकरणहरू घटनास्थलमा पठाइएको छ। क्लबका अनुसार मौसम र सञ्चालन अवस्था अनुकूल भएमा हेलिकप्टरको सहयोग र उपलब्ध सबै उद्धार स्रोतहरू प्रयोग गरेर खोजी कार्यलाई तीव्र पारिएको छ।
एसीपीका महासचिव अयाज शिग्रीले घटना हुनुभन्दा अघि धेरै आरोहण टोलीहरूले संयुक्त रूपमा शिखर अभियान सुरु गरेको बताए। उनले बेपत्ता पर्वतारोहीहरूबाट प्राप्त जीपीएस स्थानहरूले हिमपहिरोले समूहलाई लगभग एक हजार मिटर ओरालोमा बगाएको संकेत गरेको जानकारी दिए।
शिग्रीले भने, ‘हामी सबै पर्वतारोहीहरूको सुरक्षाको लागि प्रार्थना गर्छौं। यो एउटा ठूलो घटना हो।’
यसैबिच, गिलगिट-बाल्टिस्तानका मुख्यमन्त्री अमजद हुसेन एड्भोकेटले सबै सम्बन्धित विभागहरूलाई उच्च सतर्कतामा रहन र पाकिस्तानी सेनासँगको समन्वयमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्। प्रान्तीय सरकारले बेपत्ता पर्वतारोहीहरूलाई पत्ता लगाउन र सुरक्षित रूपमा उद्धार गर्न हरसम्भव प्रयास गरिरहेको जनाएको छ।
प्रकाशित: १५ श्रावण २०८३ १२:५१ शुक्रबार