समाज

ब्रोड पिक हिमपहिरो : युक्त र नाधिराको शव स्कर्दु ल्याइँदै, निर्मल पुर्जासहित ६ को खोजी जारी

तस्बिर : गिलगिट-बाल्टिस्तान प्रहरी

पाकिस्तानको काराकोरम पर्वत शृङ्खलास्थित विश्वकै १२ औँ अग्लो हिमाल ब्रोड पिक (८ हजार ४७ मिटर) मा गएको भीषण हिमपहिरोमा परी बेपत्ता भएकामध्ये चार जनाको शव फेला परेको छ। 

पाकिस्तानी सेनाको सञ्चार शाखा (आईएसपीआर), अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) र गिलगिट-बाल्टिस्तान प्रहरीका अनुसार १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीमध्ये चार जनाको शव निकालिएको छ भने बाँकी ६ जना अझै बेपत्ता छन्। एसीपीका अध्यक्ष मेजर जनरल इरफान अरशद खानले मृतकमध्ये ओमानकी प्रसिद्ध पर्वतारोही नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङ (युक्त) को पहिचान खुलेको जानकारी दिएका छन्। 

मृत फेला परेकी नाधिरा सन् २०२२ मा विश्वको दोस्रो अग्लो हिमाल केटु (८ हजार ६११ मिटर) सफल आरोहण गर्ने पहिलो अरब महिला बनेकी थिइन् भने पुरबहादुर अन्तर्राष्ट्रिय पर्वतीय गाइड संघ (आईएफएमजीए) प्रमाणित दक्ष तथा ख्यातिप्राप्त आरोही थिए। अन्य दुईवटा शवको औपचारिक सनाखत हुन बाँकी छ।

गिलगिट प्रहरीका अनुसार पहिचान खुलेका दुई आरोहीहरूको शवलाई पाकिस्तानी सेनाको हेलिकप्टरमार्फत स्कर्दुतर्फ लैजाने कार्य भइरहेको छ।

प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थितिका बिच पाकिस्तानी सेनाका दुईवटा विशेष हेलिकप्टर र विशेषज्ञ भरियाहरूको टोलीले घटनास्थलमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएको छ। गिलगिट-बाल्टिस्तान प्रहरी र सम्बन्धित निकायहरूले कठिन भौगोलिक तथा मौसमी अवस्थाका कारण उद्धार कार्य अत्यन्त सावधानीपूर्वक सञ्चालन भइरहेको बताएका छन्।

बिहीबार बिहान काराकोरम टुर्स, अमेजिङ टुर्स र ब्लू स्काई ट्रेक एण्ड टुर्स कम्पनीमार्फत गएको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली क्याम्प दुईबाट क्याम्प तीनतर्फ अगाडि बढ्दै गर्दा हिमपहिरोको चपेटामा परेको थियो। भूउपग्रह ट्र्याकिङ डेटा (जीपीएस लोकेसन) विश्लेषण गर्दा क्याम्प दुई र क्याम्प तीनको बिचमा हिँडिरहेको यो टोलीलाई हिमपहिरोले तीव्र गतिमा करिब एक हजार मिटर तल ओरालोमा बगाएको देखिएको छ।

एसीपीका महासचिव अयाज शिग्रीले दिएको जानकारी अनुसार बेपत्ता आरोहीहरूका चारवटा जीपीएस ट्र्याकरहरूको लोकेसन पत्ता लागे पनि तिनीहरू स्थिर छन्। उद्धार टोलीहरू अक्सिजनको सहयोगमा ती ट्र्याकरहरू भएको स्थानतर्फ अगाडि बढिरहेका छन्।

विश्वभरिका पर्वतारोहण क्षेत्रमा यो घटनाले ठूलो तरंग पैदा गरेको छ, किनकि यो टोलीको नेतृत्व विश्वचर्चित कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) ले गरिरहेका थिए। नेपालमा जन्मिएर हाल बेलायती नागरिकता लिएका पुर्जा अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नेपाली पहिचान र गोर्खाली साहसको प्रतीक मानिन्छन्। पुर्जाले सन् २०१९ मा विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालहरू मात्र ६ महिना ६ दिनमा चढेर विश्व कीर्तिमान रचेका थिए। ब्रोड पिक उनको सबै १४ हिमाल अक्सिजन बिना नै दोस्रो पटक चढ्ने ऐतिहासिक अभियानको १३ औँ हिमाल थियो।

बेपत्ता अन्य सदस्यहरूमा नेपालका अनुभवी गाइडहरू किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। यसैगरी, अमेरिकाकी ३९ वर्षीया म्यालोरी गेस (सारा म्यालोरी गेिस), चिनियाँ आरोही वाङ झोङ र पाकिस्तानको हुन्जा क्षेत्रका चर्चित स्थानीय गाइड सुहेल सखी हुन्जाई पनि हराइरहेका छन्। म्यालोरीले यसै वर्षको मध्यमा पाकिस्तानमा आफ्नो पहिलो ठूलो आठ हजार मिटरको हिमाल आरोहणको तयारी गरेकी थिइन् भने सुहेल सखीले यसअघि केटु, नाङ्गा पर्वत, गाशेरब्रम र कञ्चनजंघा जस्ता हिमालहरू सफलतापूर्वक आरोहण गरिसकेका छन्।

यस दुःखद घटनाप्रति नेपाल, बेलायत र चीनले गहिरो चासो व्यक्त गरेका छन्। गिलगिट-बाल्टिस्तानका मुख्यमन्त्री अमजद हुसेन एड्भोकेट र पर्यटन मन्त्री नायकनाम करीमले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सबै सम्बन्धित विभागहरूलाई उच्च सतर्कतामा रहन र उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। बेलायती दूतावास र चीनको विदेश मन्त्रालयले पनि घटनाप्रति चासो व्यक्त गर्दै आवश्यक सहयोग पुर्‍याउने बताएका छन्। एजेन्सीको सहयोगमा 

प्रकाशित: १५ श्रावण २०८३ १६:४६ शुक्रबार