सुरक्षा निकायका प्रमुखहरूले रसुवाको भोटेकोशी नदी किनारमा थुप्रिएको बाक्लो लेदो उत्खनन गरेर बाढीमा पुरिएका शवहरू निकाल्न तत्काल सम्भव नरहेको निष्कर्ष निकालेका छन्।
सोमबार प्रधानमन्त्री बालेन्द्र शाहसँगको छुट्टाछुट्टै ब्रिफिङका क्रममा सुरक्षा नेतृत्वले आवश्यक प्रविधिबिना लेदोमा पस्दा उद्धारमा खटिएका सुरक्षाकर्मीकै ज्यान जोखिममा पर्ने बताएका हुन्।
प्रधानमन्त्री बालेनले प्रधानसेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग कार्यक्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।
त्यस क्रममा सुरक्षा प्रमुखहरूले कतिपय शवहरू नदी किनारमा प्रत्यक्ष देखिए पनि दलदले लेदोका कारण पुग्न नसकिएको र हालकै अवस्थामा उत्खनन गरेर शव खोज्न नसकिने वस्तुस्थिति प्रधानमन्त्रीसमक्ष राखेका थिए।
भेटमा सुरक्षा प्रमुखहरूले भोटेकोशीको बहावमा समय-समयमा आउने उतारचढाव र क्षतिग्रस्त बाटोका कारण प्रभावित क्षेत्रसम्म पुग्ने कनेक्टिभिटीको अभावले उद्धारलाई थप जटिल बनाएको बताए।
उद्धारको गतिलाई लिएर सार्वजनिक रूपमा आलोचना भइरहेको सन्दर्भमा प्रधानमन्त्री बालेनले भने जतिसक्दो चाँडो रेस्पन्स गर्न निर्देशन दिएका थिए।
गत भदौ १० गते बिहान भोटेकोशीमा आएको भीषण बाढीपछि सरकारले नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरसहित ठूलो संख्यामा फौज परिचालन गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २० हजारभन्दा बढी सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्।
प्रकाशित: १५ भाद्र २०८३ १८:४६ सोमबार