समाज

बिपी राजमार्ग : वर्षा रोकिएपछि पुरानै ट्रयाकबाट सवारी आवागमन गराइने

अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको विभिन्न सडक खण्डमा पहिरो जाँदा तथा लेदाले राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ।

रोशी खोलाको बाढीले सम्पूर्ण अस्थायी डाइभर्सन बगाएपछि पुनर्निर्मित पुरानै सडक–ट्रयाकबाट सवारी आवागमन गराइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

वर्षा रोकिएलगत्तै पुनर्निर्मित पुरानै सडक–ट्रयाकबाट सवारी आवागमन थालिने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।

उनका अनुसार पुनिर्निर्मित पुरानै सडक–ट्रयाकमा वर्षाका कारण कहीँकतै अप्ठ्यारो देखिए मर्मत गरी यातायातका साधन सञ्चालन गरिनेछ।

विसं २०८१ असोज दोस्रो हप्ताको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोक तर्फको करिब २५ किलोमिटर सडक क्षतिग्रस्त भएको थियो।

क्षतिग्रस्त सडक पुनर्निर्माणको चरणसम्म रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर आवागमन सञ्चालन गरिँदै आएको थियो।

जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजगर गर्दै राजमार्गअन्तर्गत काभे्रपलाञ्चोक खडकखण्डमा ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलले बाढीपहिरोको अवस्था हेरि दिनको समयमा पनि बन्द गर्नसक्ने जनाएको छ। ‘वर्षा रोकिएपछि पुरानै सडक–ट्रयाकबाट सवारी आवागमन थाल्नेछौँ, यसका लागि तयारी अवस्थामा छौँ’, योगेशले भने।

जारी वर्षामा जोखिम हुने भएकाले अहिले पुनर्निर्मित नयाँ सडकबाट सवारी आवागमन गराउने नसकिने उनको भनाइ छ। स्थायी रुपमा थालिएको पुनःनिर्माणकार्यसँगै २५ किमी पुनर्निर्मित ट्रयाकबाटै पूर्णरुपमा सहज तरिकाले सवारी आवागमन समेत गराइने भएको छ।

त्यस राजमार्गमा पछिल्ला केही महिनादेखि पुनर्निर्माणकार्यलाई तीव्रता दिइँदै आइएको थियो। नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै रोशीको बाढीले अस्थायी रुपमा बनाइएको डाइभर्सन बगाउने हुँदा अवरुद्ध भइहाल्थ्यो।

हाल कार्यालयले पुनर्निर्मित ट्रयाकमा वर्षामा सकेसम्म राजमार्ग अवरुद्ध हुन नदिने गरी तथा अवरुद्ध भइहाले आधा घण्टाभित्र सञ्चालनमा ल्याउने तयारी समेत गरिएको योगेशले बताए।

उनले भने, ‘वर्षायामलाई मध्यनजर गर्दै पुनर्निर्मित ट्रयाकमा वर्षालगायत कारण अवरुद्ध भइहाले आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ, यसका लागि आवश्यक ‘इक्युपमेन्ट’समेत ‘स्ट्याण्डबाई’ अवस्थामा राखिएको छ।’

उनका अनुसार साविककै स्थानमा पुनर्निर्माण भएका अधिकांश खण्डबाट पनि आवागमन हुँदै आएको थियो। पछिल्लो समय चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्रयाकबाट आवागमन गराउँदै आइएको थियो।

चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त स्थानका रुपमा पहिचान गरेको छ।

दुई वर्षअघिको बाढीपहिरोले राजमार्गअन्तर्गत भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो।

उक्त राजमार्ग यसअघिको बाढीबाट क्षति भएका अधिकांश स्थानमा ग्राभेलसम्मको काम तथा केही स्थानमा भने वर्षाका ठूला ढुङ्गा राखेर सडक तयार गरिएको हो।

हाल वर्षायामअघि सात मिटर उचाइसम्म सडक बनाएर ग्राभेल राख्न थालिएको थियो भने वर्षापछि खोलाबाट करिब १० मिटर उचाइसम्म सडक बनाएर कालोपत्र गरिने जनाइएको छ।

कतिपय स्थानमा आरसिसी वालको फाउण्डेसन पूरा भई अन्य काम भइरहेको छ भने ट्रयाक निर्माण भएका सडकमा ग्राभेल हार्लिकाले सवारीसाधन सञ्चालनमा कुनै समस्या आउने छैन।

क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिएको हो। जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो। 

क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किलोमिटर सडक निर्माणको काम जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण गरिरहेको छ।

जाइकाले उक्त खण्डमा माटो भरेर बोल्डर (ठूला ढुङ्गा) राख्ने काम गरेको जनाएको छ। वर्षाका समयमा पनि यस खण्डमा खोलाबाट सवारीसाधन चलाउनुपर्ने अवस्था नभएको योगेशले बताए।

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरी कामअघि बढाइएको हो।

अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको छ। ‘पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरी दुई लेनको बनाइनेछ’, योगेशले भने।

उनका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ। तीनवटै खण्डमा छ दशमलव तीन किलोमिटर आरसिसी पर्खाल निर्माण हुनेछ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ धुलिखेल–सिन्धुली–बर्दिबाससम्मको एक सय ६० किमी बिपी राजमार्ग निर्माण कार्य सुरु गरिएको थियो।

खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

प्रकाशित: ९ आश्विन २०८३ १५:२५ शुक्रबार