डुडुवा गाउँपालिका–५ र राप्तीसोनारी गाउँपालिका–६ बिचको सीमा विवाद समाधान गर्न स्थानीयले दबाब बढाएका छन्। सीमा अस्पष्टताका कारण निरन्तर बढ्दो तनावका बिच राप्तीसोनारी–६ खल्ला टपरीका स्थानीयले सोमबार गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्दै छिटो समाधानको माग गरेका हुन्।
दुवै स्थानीय तहबिच राप्ती नदीको बगर क्षेत्रमा पर्ने नदीजन्य पदार्थ उत्खनन अधिकारलाई लिएर विवाद चर्किंदो छ। सीमांकनका कागजी प्रमाण तथा प्राविधिक नक्सा नहुँदा दुवै पक्षले आआफ्नै दाबी प्रस्तुत गर्दै आएका छन्। प्राकृतिक स्रोतको आर्थिक मूल्य उच्च रहेकाले उत्खनन अधिकारलाई लिएर विवाद थप जटिल बन्दै गएको स्थानीयले जनाएका छन्।
स्थानीयका अनुसार डुडुवाले ‘गाउँ प्रहरी’ परिचालन गरी विवादित क्षेत्रमा जबरजस्ती उत्खनन गरेको आरोप छ। ‘हामीले बारम्बार रोकावट माग गर्दा पनि डुडुवाले आफ्नो क्षेत्र भनेर उत्खनन गर्दै आएको छ, यही कारणले आज स्थानीय आक्रोशित भएका छन्, ‘प्रदर्शनका क्रममा स्थानीयले भने। तर डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले आरोप अस्वीकार गर्दै विवादित क्षेत्र डुडुवाभित्र पर्ने भएकाले उत्खनन वैध रहेको दाबी गर्छन्। ‘कागज, नक्सा र सरकारी अभिलेखअनुसार स्थान हाम्रोभित्र पर्छ। उत्खनन वैधानिक रूपमा गरिएको हो’, अध्यक्ष चौधरीले बताए।
दुवै स्थानीय तहका दाबी कडा बन्दै गएसँगै विवाद समाधानमा जिल्लास्तरको संरचनाले पहल थालेको छ। जिल्ला समन्वय समिति (जिसस) बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा बहुपक्षीय समन्वय र मध्यस्थता प्रयास जारी रहेको जनाएको छ। सीमा निर्धारणको अस्पष्टता, एकतर्फी उत्खनन र स्थानीय सुरक्षा संयन्त्रको समन्वय अभाव विवादका प्रमुख कारणका रूपमा चिनिएका छन्। आर्थिक मूल्य उच्च रहेका नदीजन्य पदार्थका कारण संसाधन कब्जाको प्रतिस्पर्धा बढ्दै गएपछि विवाद थप चर्कन सक्ने संकेत देखिएको छ।
स्थानीयले भने तत्काल सीमा टुंगो लगाई उत्खनन गतिविधिलाई व्यवस्थित गर्न माग गरेका छन्। ‘सीमा नखुलेसम्म विवाद झन् बढ्दै जान्छ। सरकारी निकायले चाँडो निर्णय लिनुपर्छ’, तालाबन्दीमा सहभागी स्थानीयले भने। सहरको विवाद चुलिँदै जाँदा दुवै गाउँपालिकाका नेतृत्वले समाधान खोज्न तत्परता देखाए पनि ठोस निष्कर्ष भने आउन सकेको छैन। जिसस बाँकेले भने छिटो सहमतिका लागि निरन्तर समन्वय भइरहेकाले समाधान नजिकै हुने आशा व्यक्त गरेको छ।
प्रकाशित: ९ मंसिर २०८२ ०९:४८ मंगलबार