इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ।
आज मंगलबार बिहान सडक छेउको नालामा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकर तथा नजिकै रातो प्लाष्टिकको पोकामा ‘खतरा’ लेखिएको अवस्थामा वस्तु देखिएको भन्ने सूचना प्राप्त भएको प्रहरीले जनाएको छ।
सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा सात जनाको टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित घेरामा राख्दै सर्वसाधारणको आवतजावत नियन्त्रण गरेको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय छिन्चुबाट करिब ३ किलोमिटर उत्तरतर्फ पर्छ। शंकास्पद वस्तुको प्रकृति पहिचान गर्न नेपाली सेनासँग समन्वय भइरहेको र आवश्यक सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
हालसम्म कुनै क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
प्रकाशित: १९ फाल्गुन २०८२ १०:५८ मंगलबार