समाज

लमजुङमा बलेरो जिप दुर्घटना: ७ जना घाइते

लमजुङको बेसीशहर नगरपालिका-३ दनैगाउँस्थित रानीकुवा-गाउँशहर भित्री पक्की सडक खण्डमा बलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

रानीकुवाबाट गाउँसहरतर्फ जाँदै गरेको ग प्रदेश ०१-००१ ज ००५१ नम्बरको बलेरो शनिबार दिउँसो २ बजे बाटो छेउमा पल्टिएर दुर्घटनामा परेको हो।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी सहायक निरीक्षक भरत थापाको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाएको छ।

दुर्घटनामा बेसीशहर नगरपालिका-३ गाउँसहर बस्ने ४० वर्षीय काजीराम हिमालीको बायाँ हातमा चोट लागेर अवस्था मध्यम रहेको छ।

सोही स्थानका ४० वर्षीया मैया दुलाल, ६१ वर्षीया राधिका घर्ती, ५० वर्षीया मैया मालुवा, ५७ वर्षीय सन्तबहादुर सार्की, ७० वर्षीया सन्तमाया नेपाली र ४५ वर्षीया रिता मगर सामान्य घाइते भएका छन्। घाइतेहरूमध्ये अधिकांशको हात र कानमा चोट लागेको प्रहरीले जनाएको छ।

चालकसहित आठ जना सवार उक्त गाडीका चालक बेसीसहर-३ बस्ने ४० वर्षीय निर्मल देउजा भने सकुशल रहेका छन्। चालक देउजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २३ श्रावण २०८३ १५:४१ शनिबार