समाज

तनहुँको आँबुखैरेनीमा बोलेरो जिप दुर्घटना: एक जनाको मृत्यु, ५ घाइते

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा बुधबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

छिम्केश्वरीबाट आँबुखैरेनी तर्फ आउँदै गरेको से १ च ६५१ नम्बरको बोलेरो जिप साँझ करिब ७:३० बजे चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएर दुर्घटना भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–५ बस्ने ३१ वर्षीय पुष्पलाल श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ।

टाउकोमा गम्भीर चोट लागेका श्रेष्ठलाई तत्काल उद्धार गरी आँबुखैरेनी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति ८:४५ बजे मृत घोषणा गरेका हुन्।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्। घाइते हुनेहरूमा चितवन इच्छाकामना गाउँपालिका–५ बस्ने १६ वर्षीया भावना गुरुङको अवस्था मध्यम रहेको छ। उनको शरीरको विभिन्न भागमा भित्री चोट लागेको प्रहरीले जनाएको छ।

त्यस्तै, अन्य घाइतेहरूमा चितवन इच्छाकामना–२ की २० वर्षीया दोमाया गुरुङ, वडा नं ५ का २६ वर्षीय जित बहादुर गुरुङ, २५ वर्षीय अचित गुरुङ र कालिका नगरपालिका–८ की ३४ वर्षीया सरस्वती गुरुङ रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको र अहिले आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ।

जिपमा चालकसहित कुल ११ जना सवार थिए।

प्रकाशित: ३ मंसिर २०८२ २१:३२ बुधबार