काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि बेपत्ता दम्पतिमध्ये पत्नी तिलकुमारीको शव फेला परेको छ। उनको शव आज ओखलढुङ्गामा फेला परेको हो।
नदीमा सँगै हामफालेका उनका पति केदारनाथको अवस्था भने अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ पतिसँगै बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव सिन्धुली र ओखलढुङ्गाको सीमास्थित सुनकोशी नदीमा फेला परेको हो।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ बलखुस्थित सुनकोशी नदीको किनारमा तैरिएको अवस्थामा तिलकुमारीको शव फेला परेको सूचना अधिकारी विष्टले जानकारी दिए। केदारनाथको खोजी कार्य जारी छ।
तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित थिइन्। पराजुली दम्पत्तिले बुधबार साँझ नदीमा हामफालेको जानकारी पाएपछि सोही रातिदेखि नै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयले खोजी कार्य जारी राखेका छन्।
प्रकाशित: २४ श्रावण २०८३ २२:०८ आइतबार



