मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारस्थित राप्ती खोलामा बगेर बेपत्ता भएकी ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।
भदौ ५ गते बिहान करिब ६ बजेदेखि इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोजी गर्ने क्रममा बिहान करिब ७ बजे बगाएको स्थानबाट करिब ५ किलोमिटर तल मनहरी–३ लामिटारस्थित राप्ती खोलामा बालिकाको शव फेला परेको हो।
मृत अवस्थामा फेला पर्ने बालिका हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुर निवासी टीकाराम ब्लोनकी करिब ११ वर्षीया छोरी सुमित्रा ब्लोन रहेको प्रहरीले जनाएको छ।
बालिकाको शव राप्ती खोलाको कास र बालुवामा अल्झिएको अवस्थामा फेला परेको थियो। घटनाबारे कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक राजेशकुमार बर्तौलाको कमाण्डमा सो कोसहितको प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
प्रकाशित: ५ भाद्र २०८३ ०८:३० शुक्रबार