समाज

बेपत्ता दुई भारतीय नागरिकको शव हिउँमा पुरिएको अवस्थामा फेला

तस्बिर: सशस्त्र प्रहरी

मनाङमा गत कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव हिउँले पुरिएको अवस्थामा फेला परेको छ।

५२ वर्षीय जिग्नेस कुमार लल्लु भाई पटेल र उनकी १७ वर्षीया छोरी प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरी बलको एक विशेष टोलीले आइतबार दिउँसो फेला पारेको हो।

प्रहरीका अनुसार बाबुछोरी मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट सोही गाउँपालिका–५ मा रहेको मलेरिपा गुम्बा घुम्न जाने भन्दै कात्तिक ३ गते निस्किएका थिए। त्यसपछि उनीहरू सम्पर्कमा आएका थिएनन्।

उनीहरू सम्पर्कविहीन भएपछि होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङलाई खबर गरेको थियो। शिक्षालयको टोलीले प्रारम्भिक खोजी गर्दा उनीहरू फेला परेका थिएनन्।

त्यसपछि, कात्तिक २३ गते सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) हिराबहादुर जिसीको कमाण्डमा पर्वतीय उद्धार तथा उच्च तालिम प्राप्त एक विशेषज्ञ टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ प्रस्थान गरेको थियो।

सोही टोलीले गुम्बाभन्दा करिब सय मिटर माथिको क्षेत्रमा हिउँले पुरिएको अवस्थामा दुवै जनाको शव फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

शवलाई घटनास्थलबाट तल झार्ने कार्य भइरहेको डीएसपी थापाले बताएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०८२ १५:३३ आइतबार