समाज

जम्मुचिरामा कृत्रिम जलाशयमा डुङ्गा सञ्चालन

दाङको तुलसीपुर उपमहानगरपालिका-१ देवीस्थानस्थित जम्मुचिरा जलाशय(ड्याम)मा डुङ्गा सञ्चालनमा ल्याइएको छ । सिँचाइका लागि निर्माण गरिएको जलाशयमा आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले डुङ्गा सञ्चालनमा ल्याइएको हो ।  

वडाध्यक्ष हुमकान्त सापकोटाले स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्नुका साथै पर्यटन प्रवर्द्धनका लागि डुङ्गा सञ्चालनमा ल्याइएको बताए । 'खासगरी यो ड्याम सिँचाइका लागि निर्माण गरिएको हो । तर, यसलाई पर्यटनका हिसाबले पनि जोड्न सकिन्छ, भनेर हामीले अहिले डुङ्गा पनि सञ्चालनमा ल्याएका छौँ,' उनले भने । यसले स्थानीय युवालाई स्वरोजगार बनाएको उनको भनाइ छ ।  

नजिकै मनकामना मन्दिर रहेकाले मन्दिर दर्शन गर्न आउनेले डुङ्गा पनि सयर गर्न पाउने वडाध्यक्ष सापकोटाले बताए । 'नजिकै मन्दिर छ, त्यो मन्दिरमा आउनेहरूले अब डुङ्गा पनि सयर गर्न पाउछन् । त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई झनै आकर्षण गराउनेछ', उनले बताए । उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाले यो डुङ्गा उपलब्ध गराएको हो ।  

यहाँ विभिन्न प्रजातिका ४० हजार माछाका भुरासमेत राखिएको जनाउँदै वडाध्यक्ष सापकोटाले त्यसले स्थानीयको आम्दानीको स्रोतलाई पनि बढाउने विश्वास व्यक्त गरे । यहाँको बाँझो जग्गामा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले ड्याम बनाएको उनले बताए ।  

ड्याम नहुँदा यहाँका खेतीयोग्य जग्गा बाँझै हुने गरेकामा जलाशय सञ्चालनमा खाएसँगै यहाँका किसानले सहजै बेमौसमी तरकारी उत्पादन गर्न थालेका स्थानीय प्रमोद कँडेलले बताए । 'ड्याम नहुँदा सिँचाइमा समस्या थियो । ड्याममा पानी जम्मा हुन्छ, यसले बाँझो जमिनमा सिँचाइ सुविधा पुर्‍याइरहेको छ भने डुङ्गा सञ्चालनले आयाआर्जन बढाउने अपेक्षा गरिएको छ,' उनले भने ।  

यहाँका एक हजार हेक्टरबढी जग्गामा सिँचाइ पुर्‍याएको जनाउँदै वडाध्यक्ष सापकोटाले यसबाट तीन हजार बढी किसान लाभान्वित भएका बताए । 'यहाँ पहिला सानो पानीको मुहान थियो । त्यहीँ मुहानलाई ड्याम बनाउने स्थानीयको परिकल्पनाअनुसार निर्माण गरिएको हो । यसले पर्यावरणलाई पनि सहयोग पुर्‍याएको छ', उनले भने । 

प्रकाशित: ५ कार्तिक २०८२ १४:४४ बुधबार