जिल्लामा रगतको माग बढ्दै जाँदा रक्तदाताहरूको सङ्ख्या बढ्न सकेको छैन। बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरूको सङ्ख्या भने बढ्न नसकेको हो।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा रगतको माग दैनिक माग बढ्दो छ। उनका अनुसार जिल्लामा दैनिक एक सय १५० युनिट सम्म रगतको माग हुने गर्दछ।
यस आर्थिक वर्षको फागुनसम्ममा १६९ स्थानमा भएका रक्तदान कार्यक्रममा ११ हजार ५३२ युनिट र केन्द्रमा आएर दिएको सङ्ख्या तीन हजार १८१ छ।
अघिल्लो आव २०८१/८२ मा २८७ स्थानमा भएका रक्तदानमा १८ हजार ५७७ युनिट र केन्द्रमा चार हजार ६४० युनिट रगत सङ्कलन भएको थियो। आव २०८०/८१ मा २९८ स्थानमा भएको रक्तदान कार्यक्रमबाट १८ हजार ४०९ युनिट र केन्द्रमा छ हजार ९२० युनिट रगत सङ्कलन भएको थियो। यसलाई हेर्दा केन्द्रमा आएर रक्तदान गर्नेहरूको सङ्ख्या घट्दो छ। गत वर्ष यहाँ ब्लड डोनर्स सोसाइटीले रक्तदान महोत्सव नै आयोजना गरी एक हजार ७१७ युनिट रगत सङ्कलन भएको थियो।
प्रमुख पौडेलले देशैभरबाट बिरामी यहाँ आउने भएकाले रगतको माग बर्सेनि बढेको बताए। रक्तदान गर्ने युवा जनशक्ति विदेश गएको, उमेर बढ्दै गएपछि उच्च रक्तचाप, मधुमेह जस्ता रोगका कारण रक्तदान गर्न नमिल्ने भएका कारण दाता घटेको उनको भनाइ छ। उनले भने, “दाता घट्ने र माग बढ्ने हुँदा सन्तुलन मिलाउन कठिन हुने गरेको छ।”
यहाँ माग उच्च हुँदा छिमेकी जिल्लाहरूबाट समेत रगत ल्याउने गरिन्छ।
केन्द्र सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेल छिमेकी १४ भन्दा बढी जिल्लाबाट सङ्कलन गरेर रगत ल्याउँदासमेत पुर्याउन नसकिएको बताउँछन्। यहाँ रहेका क्यान्सर अस्पताल, दुई मेडिकल कलेज, सरकार भरतपुर अस्पताल र निजी अस्पतालमा आउने घाइते र बिरामीहरुका लागि रगतको माग बढ्दा सन्तुलन मिलाउन नसकिएको उनले बताए। राजधानी काठमाडौँपछि धेरै रगत चितवनमा चाहिने भन्दै उनले सबैको साथ र सहयोगबाट मात्रै रगतको पूर्ति गर्न सकिने बताए।
देशभर रक्तदानमा उत्प्रेरणा गर्दै आएको ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारी रेडक्रस सोसाइटीले सञ्चालन गरेका केन्द्रहरूले व्यवस्थापकीय रूपमा सुधार गर्नसकेमा रक्त सङ्कलन बढ्ने बताउँछन्। केन्द्रले आम रक्तदाता र सङ्घ संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गरेर काम गर्नुपर्ने उनको सुझाव छ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशैभरिबाट बिरामी आउने गर्दछन्। सबैभन्दा बढी रगत क्यान्सर उपचारमा खपत हुने गर्दछ। यस्तै चितवन मेडिकल कलेजले क्यान्सर इन्स्टिच्युट सञ्चालन गरेको छ। जहाँ रगतको माग उच्च हुने गर्दछ।
भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारी रक्तदाताहरूलाई उत्प्रेरित गर्नुपर्ने बताउँछन्। विद्यालय र क्याम्पसका पाठ्यक्रमहरूमा रक्तदानको महत्त्वबारे जानकारी गराउनुपर्ने भन्दै उनले रक्तदान गर्नेहरूलाई राज्यका तर्फबाट केही सहुलियत हुनुपर्ने बताए।
उनले आफूले सञ्चालन गरेको श्री पुष्पाञ्जली अस्पतालमा स्थापनाका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ जनाले रगत दिएकोमा १८ नयाँ भएको भन्दै उनले नयाँ रक्तदातालाई राज्यकै तर्फबाट उत्प्रेरित गर्नुपर्ने बताए।
प्रकाशित: ३ वैशाख २०८३ ०९:०६ बिहीबार



