समाज

विस्तारै खुल्दै अवरुद्ध सडकहरू, तेह्रमध्ये पाँच सडक एकतर्फी सञ्चालनमा

लगातारको वर्षाले अवरुद्ध बनेका सडकहरू विस्तारै सञ्चालनमा आउन थालेका छन्। सडक विभाग, स्थानीय सरकार र  सुरक्षाकर्मीको पहलमा सडकमा रहेको अवरोध हटाउँदै सञ्चालनमा ल्याइएको हो।  

नेपाल प्रहरीले साँझ ७ बजे जारी गरेको सूचनामा मध्यपहाडी लोकमार्गको धनकुटा पाख्रिबास नगरपालिका ५ ढिकुरे र कोशी राजमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिकाको तीन ठाउँमा रहेको अवरोध हटाइएपछि यातायात एकतर्फी सञ्चालनमा आएको उल्लेख छ ।  

यस्तै कान्ति लोकपथको मकवानपुर बकैया गाउँपालिका घट्टेपाखा र भिमफेदी गाउँपालिकाको बगुवा खोला तथा मदन भण्डारी राजमार्गको मरिण गाउँपालिकाको सिन्दुरे खण्डको अवरोध हटाएपछि यातायात खुलेको छ ।  

अन्य स्थानमा रहेको अवरोध भने हटाउने प्रयास जारी रहेको नेपाल प्रहरीको भनाइ छ। विपी राजमार्गको सुनकोशी गाउँपालिका र रोशी गाउँपालिका खण्ड, पासाङ ल्हामु सडकको रसुवा गोसाईकुण्ड र गोसाईकुण्ड खण्डको तीन ठाउँमा सडक ूपूर्णरुपमा अवरुद्ध छ । यस्तै काशी राजमार्गको संखुवासभा भोटखोला, मकालु, मेची राजमार्गको इलाम नगरपालिका खाण्ड र मध्य पहाडी लोकमार्गको भोजपुर टेम्केमैयुङ खण्ड पनि पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित: २० आश्विन २०८२ १९:३६ सोमबार