समाज

कालो कार्बन पनि तापक्रम बढाउने कारक

डिजेल र उद्योगजन्य उत्सर्जन घटाउन नसके जलवायु प्रणालीमा थप संकट आउने चेतावनी

वायुमण्डलमा पाइने कालो कार्बन (ब्ल्याक कार्बन) ले पृथ्वीको तापक्रम बढाउन यसअघिका अनुमानभन्दा अधिक भूमिका निर्वाह गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। अध्ययनअनुसार कालो कार्बनभित्र रहेका विभिन्न प्रकारका कणमध्ये बढी प्रकाश सोस्ने ‘सुट’को हिस्सा औद्योगिक युग सुरु भएयता उल्लेख्य रूपमा बढेको पाइएको छ।

‘नेचर जिओसाइन्स’ मा मंगलबार प्रकाशित वैज्ञानिक अध्ययनअनुसार मानवजन्य कालो कार्बन उत्सर्जनमा ‘सुट’को हिस्सा सन् १७५० मा १६ प्रतिशत रहेकोमा २०१९ मा आइपुग्दा बढेर ३५ प्रतिशत पुगेको छ। वैज्ञानिकले यसको प्रमुख कारण जीवाश्म इन्धनको बढ्दो प्रयोगलाई मानेका छन्।

कालो कार्बनलाई अहिलेसम्म जलवायु अध्ययनमा प्रायः एउटै एकाइको रूपमा गणना गरिँदै आएको छ। तर वैज्ञानिक टोलीले गरेको नयाँ अध्ययनले कालो कार्बनभित्र पनि प्रकाश सोस्ने क्षमता फरकफरक भएका दुई प्रमुख स्वरूप ‘चार’ र ‘सुट’ रहेको देखाएको छ।

‘चार’ तुलनात्मक रूपमा कम प्रकाश सोस्ने कण हो भने ‘सुट’ले बढी प्रकाश सोस्ने भएकाले वायुमण्डललाई बढी तताउने क्षमता राख्छ। वैज्ञानिकका अनुसार ‘चार’ वायुमण्डललाई कम तताउने र ‘सुट’ बढी तताउने प्रकारको कालो कण हो।

सन् १७५० देखि २०१९ सम्म कालो कार्बन उत्सर्जनको स्वरूप अध्ययन गर्न शोधकर्ताहरूले कालो कार्बनका करिब दुई हजार पाँच सय नमुनालाई ताप र प्रकाशको प्रयोगबाट परीक्षण गरेका थिए।

विद्युत् उत्पादन, उद्योग, घरायसी इन्धन, कृषि, यातायात तथा प्राकृतिक स्रोतसहित १४१ प्रमुख उत्सर्जन स्रोतको तथ्यांक समेटेर कालो कार्बनको विश्वव्यापी सूची तयार गरिएको थियो।

प्रकाश सोस्ने क्षमताका आधारमा कालो कार्बनका दुई स्वरूप ‘चार’ र ‘सुट’मा उल्लेख्य अन्तर रहेको पाइएको छ। कोइलाका टुक्राबाट निस्कने ‘सुट’को प्रकाश सोस्ने क्षमता ‘चार’को तुलनामा १६८ प्रतिशतसम्म बढी देखिएको छ।

अध्ययनअनुसार ग्राफाइटमा यो अन्तर ११२ प्रतिशत र कार्बन ब्ल्याकमा ६२ प्रतिशत छ। यातायातबाट हुने उत्सर्जनमा पनि ‘सुट’को प्रकाश सोस्ने क्षमता ‘चार’को भन्दा ८५ प्रतिशत बढी हुने शोधकर्ताले उल्लेख गरेका छन्।

कालो कार्बनलाई एउटै औसत गुण भएको पदार्थ मानेर जलवायु मोडलमा प्रयोग गर्दा त्यसले पार्ने तापीय प्रभाव कम आकलन हुन सक्ने वैज्ञानिक निष्कर्ष छ। उत्सर्जनको स्रोतअनुसार पनि ‘सुट’ र ‘चार’को अनुपात निकै फरक रहेको अध्ययनले देखाएको छ।

 कोइलाबाट चल्ने विद्युत् उत्पादन केन्द्र, डिजेल सवारीसाधन र औद्योगिक बोइलरजस्ता उच्च तापक्रममा हुने दहनका स्रोतबाट तुलनात्मक रूपमा बढी ‘सुट’ निस्कन्छ। यसको विपरीत घरायसी इन्धन बाल्ने गतिविधि र डढेलोबाट ‘चार’को मात्रा बढी निस्कन्छ।

जीवाश्म इन्धनसँगै सुट उत्सर्जन तीव्र

अध्ययनअनुसार सन् १७५० देखि २०१९ सम्म मानवजन्य ‘सुट’को उत्सर्जन करिब १८ गुणाले बढेको छ। अर्थात् यो ०.११ टेराग्रामबाट बढेर १.९९ टेराग्राम पुगेको छ। यसको तुलनामा ‘चार’को उत्सर्जन करिब ६ गुणाले बढेको छ। सुटको तीव्र वृद्धिको मुख्य कारण औद्योगिक र यातायात क्षेत्रमा जीवाश्म इन्धनको प्रयोग विस्तार हुनु रहेको अध्ययनले देखाएको छ।

यसैकारण सन् १७५० देखि विश्वव्यापी ‘सुट–चार’ अनुपात ०.१८ बाट बढेर २०१९ मा ०.५४ पुगेको छ। विकसित देशमा यो वृद्धि अझ तीव्र देखिएको छ। विकसित देशमा उक्त अनुपात ०.३० बाट बढेर १.२९ पुगेको अध्ययनले देखाएको छ।

अध्ययनले दक्षिण एसियालाई कालो कार्बन उत्सर्जनका हिसाबले अगाडि देखाएको छ। सन् २०१९ मा दक्षिण एसियाबाट मानवजन्य ‘चार’ को उत्सर्जन करिब ६६८ गिगाग्राम प्रतिवर्ष र सुटको उत्सर्जन ३५३ गिगाग्राम प्रतिवर्ष रहेको अनुमान गरिएको छ।

यसक्षेत्रको घरायसी क्षेत्रमा ठोस इन्धनको प्रयोग कालो कार्बन उत्सर्जनको ठुलो स्रोत रहेको अध्ययनले देखाएको छ। शोधकर्ताका अनुसार दक्षिण तथा दक्षिणपूर्वी एसियाले संयुक्त रूपमा विश्वको मानवजन्य कालो कार्बनबाट हुने प्रकाश अवशोषण क्षमतामा करिब २४ प्रतिशत योगदान गर्छन्। यसमा पूर्वी एसियाको योगदान २२ प्रतिशत छ।

डिजेल र उद्योगजन्य उत्सर्जन नियन्त्रण आवश्यक

शोधकर्ताले कालो कार्बन घटाउने प्रयासमा सबै स्रोतलाई एउटै दृष्टिले हेर्नुभन्दा बढी ‘सुट’ उत्सर्जन गर्ने स्रोतलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। विशेषगरी डिजेल यातायात र औद्योगिक दहनबाट हुने ‘सुट’ उत्सर्जन नियन्त्रण गर्न सके जलवायु तापक्रम न्यूनीकरणमा प्रभावकारी योगदान पुग्न सक्ने उनीहरूको निष्कर्ष छ।

अध्ययनले वायु प्रदूषण नियन्त्रणका क्रममा केही ‘एरोसोल’ घट्दा त्यसले वायुमण्डलको चिस्याउने प्रभाव कमजोर बनाएर तापक्रम वृद्धिलाई केही हदसम्म तीव्र बनाउन सक्ने अवस्थासमेत औंल्याएको छ। त्यसैले प्रदूषण नियन्त्रणसँगै ‘सुट’जस्ता ताप बढाउने अल्पकालीन जलवायु प्रदूषकलाई लक्षित गर्नु आवश्यक हुने वैज्ञानिक भनाइ छ।

शोधकर्ताले ‘चार’ र ‘सुट’को वायुमण्डलीय व्यवहार, तिनको प्रकाश सोस्ने गुण, वायुमण्डलमा पुरानो हुँदै जाने प्रक्रिया र बादल निर्माण तथा सतहको परावर्तनमा पार्ने प्रभावबारे अझै पर्याप्त जानकारी नभएकाले थप अनुसन्धान आवश्यक रहेको बताएका छन्।

प्रकाशित: २५ भाद्र २०८३ ०६:२१ बिहीबार