समाज

वीरमा आइसियुका बिरामी कुरुवालाई सुविधायुक्त पलङ

कुनै बेला वीर अस्पतालमा उपचाररत बिरामीका कुरुवाले बिरामी कुर्दा सास्ती भोग्थे। त्यसमा पनि आइसियुका बिरामी कुरुवाको विजाेग नै हुन्थ्यो।

गत भदौमा लायन्स क्लब काठमाडौं ३२५ डी शाखा तथा दुर्गालक्ष्मी प्रतिष्ठानले ४५ वटा कुरुवा पलङ सहयोग स्वरूप प्रदान गरेपछि आइसियु बाहिरका कुरुवाहरू भुईँको सुताइबाट मुक्त भएका छन्।

विशेष गरी आइसियु ए, सर्जिकल आइसियु र अन्य तलाहरुमा समेत पलङको मुनि कुरुवाको सामान राख्न मिल्ने नीलो रङका फलामका पलङहरू देखिन्छ।

यी पलङहरू वीर अस्पतालका निवर्तमान निर्देशक दिलीप शर्माको कार्यकालमा लायन्स क्लब काठमाडौं र दुर्गालक्ष्मी प्रतिष्ठानका अध्यक्ष विनोद देवकोटा एवं उनको पत्नी संगिता धमलाको सहयोगमा प्रदान गरिएको हो। पलङसँगै एक थान टेलिभिजन, भुइँतलामा तीन वटा पानीको फिल्टर, दुई वटा मोबाइल चार्जर स्टेसन लगायत करिब १५ लाख बराबरको सामाग्री प्रदान गरिएको छ।

पत्नी संगिता धमलाको पिता दुर्गा प्रसाद धमला बिरामी भएपछि सोही आइसियुमा भर्ना भई मृत्यु भएको स्मरणमा उक्त सामाग्री प्रदान गरेको अध्यक्ष देवकोटाले बताए। उनले भने ‘बुवालाई कुर्दा हामी कुरुवाले भुईँमै सुत्नु परेको थियो’। स्वर्गीय धमलालाई २०८१ मंसिरमा भर्ना गरिएको थियो।

कुरुवाको सामान अटाउने गरी पलङमुनि बक्स सहितको फलामको पलङ बनाएको देवकोटाले बताए। अस्पतालको सर्किजल भवनका कुरुवाको लागि भविष्यमा थप सहज बनाउने गरी व्यवस्थापन जनशक्ति पनि प्रतिष्ठानले व्यवस्था गर्ने सोच रहेको उनले जानकारी दिए। ‘जति व्यवस्थित हुनु पर्थ्यो, त्यति भएको छैन’ उनले भने।

प्रकाशित: १० असार २०८३ १८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App