समाज

तीन वर्षीया बालिका हत्याको विरोधमा वीरगञ्ज-पथलैया सडक अवरुद्ध

सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्यमा संलग्न रहेकालाई फाँसीको सजाय माग गर्दै स्थानीयहरूले दुई दिनदेखि वीरगञ्ज-पथलैया सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन्।

घटनामा संलग्न दोषीलाई फाँसी र इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने लगायतका माग राखेर स्थानीयले वीरगञ्ज-पथलैया सडक खण्डको सिमरामा अवरुद्ध गरेर बुधाबर दिउँसोदेखि प्रदर्शन गरिरहेका हुन्। सिमराका स्थानीय रामचन्द्र लामाले बालिका हराएकै समयमा इलाका प्रहरी कार्यालयलाई जानकारी गराउँदा समेत खोज्ने कार्यमा प्रहरीले लापरबाही गरेको आरोप लगाएका छन्।

बालिका गत आइतबार विहान खेल्ने क्रममा बेपत्ता भएकी थिइन्। बेपत्ता बालिकाको शव घरबाट २०० मिटर नजिकैको एउटा खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा मंगलबार साँझ प्रहरीले फेला पारेको थियो। 

बालिकालाई बलात्कार गरेर हत्या गरिएको निष्कर्ष प्रहरीले निकाले थियो। सोही आरोपमा जीतपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको बाराका प्रहरी प्रमुख नरेन्द्र कुवरले बताएका छन्।

थापा ना १ ज ७७५८ नम्बरको म्याजिक गाडीका सहचालक (खलासी) र चौधरी उक्त म्याजिकका धनी हुन्।

प्रकाशित: ४ भाद्र २०८३ १०:५५ बिहीबार