समाज

काकाकुल बनेको वीरगन्ज

मन्त्री भन्छन्: दुई हप्तामा समस्या समाधान हुन्छ

वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ देखि २७ सम्मका वडाहरूमा खानेपानीको हाहाकार बन्दै गएको छ। महानगरका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर राकेश साहका अनुसार सबै वडाहरूमा खानेपानीको समस्या भएको हो।

वीरगन्जमा करिब ५६ हजार घरपरिवारमा खानेपानीको समस्या रहेको छ । मधेस प्रदेश सरकार र वीरगन्ज महानगरले अस्थायी रुपमा खानेपानी वितरण गरेर वीरगन्जको तिर्खालाई मेट्ने प्रयास गरिरहेको छ। पानीको अत्यधिक समस्याले गर्दा वीरगंजबासी काकाकुल बनेका छन् ।

डिप बोरिङले लगातार पानी तान्नाले जमिनमुनि पानीको सतह घट्दै जानु र सतहबाट जमिनमुनि पानी जान नपाउँदा वीरगन्जमा पानीको हाहाकार मच्चिएको इन्जिनियर साहको दाबी छ । महानगर क्षेत्रमा जनसंख्याको चाप अत्यधिक भएको र पानीको दोहन अत्यधिक बढेको कारण वीरगन्जमा पानीको समस्या भएको बताइन्छ।

वीरगन्जमा खानेपानीको अत्यधिक समस्या भएपछि स्थानीयवासीले महानगर, प्रदेश र संघ सरकारलाई गुहारेका छन् । खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्जमा खानेपानीको विकराल समस्या भएको र आफूले समाधानको प्रयास गरिरहेको बताएका छन् ।

वीरगन्ज महानगरपालिकाको खानेपानीको समस्या समाधान गर्न १० भन्दा बढी मेसिनले डिप बोरिङ जडान गरिरहेको बताउँदै एक दिनमा एउटा मेसिनले एउटा मात्र डिप बोरिङ जडान गरिरहेको मन्त्री यादवले बताएका छन् । अबको दुई हप्तामा महानगरको खानेपानीको समस्या समाधान हुने मन्त्री यादवको दाबी छ ।

वीरगन्ज महानगरको खानेपानीको समस्या समाधानको लागि आफूहरूले गरिरहेको पहल अस्थायी मात्र भएको र दीर्घकालीन समाधानको लागि खानेपानीको ओभरहेड ट्यांकी निर्माण गरी वितरण गर्नुपर्ने मन्त्री यादवले बताएका छन्। वीरगन्ज महानगर क्षेत्रमा देखिएको खानेपानीको समाधानको लागि ४ अरब ५० करोड रुपैयाँ विनियोजन गरिएको पनि मन्त्री यादवको दाबी छ ।

वातावरणीय प्रभावकै कारण वीरगन्जमा खानेपानीको हाहाकार मच्चिएको मन्त्री यादवको भनाइ छ । चुरे दोहन, वन विनाश, नदीनालाको निर्बाध दोहनको प्रभाव वीरगन्ज महानगरको खानेपानीमा देखिन सुरु भएको मन्त्री यादवको भनाइ छ ।

प्रकाशित: १ श्रावण २०८२ १६:५१ बिहीबार

#NagarikNews