पहिरोले थुनिएर बनेको ताल फुट्दा बाजुराको पर्यटकीय वीरेखोला झरनामा आएको भीषण बाढीले २३ परिवारलाई विस्थापित बनाएको छ।
सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका-६ र ८ को सीमामा रहेको बस्तीको बीचबाटै बाढी पसेपछि ४१ परिवार प्रत्यक्ष जोखिममा परेका छन् भने पाक्न लागेको धानखेत ढुङ्गा र बालुवाको बगरमा परिणत भएको छ।
शुक्रबार राति करिब ८ बजे माथिल्लो भेगमा खसेको पहिरोले खोला थुनेपछि बनेको ताल एक्कासि फुटेर बस्तीमा बाढी पसेको थियो। बाढीले मानवीय क्षति नगरे पनि खेतीयोग्य जमिन, स्थानीय पूर्वाधार र घरबासमा ठूलो क्षति पुर्याएको छ।
बडीमालिका नगरपालिका-६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालका अनुसार बाढीले एक माछा पोखरी, दुईवटा पानी घट्ट र वीरेखोला झरनाको टिकट काउन्टर पूर्ण रूपमा बगाएको छ।
‘गाउँको बीचबाटै बाढी आएपछि २३ परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ, थप १८ परिवार उच्च जोखिममा छन्,’ स्थानीय लालसिंह साउदले भने, ‘राति एक्कासि बाढी पसेपछि ज्यान जोगाउन घरबाहिर भाग्नुपर्यो। अहिले न खाने अन्न छ, न बस्ने बास।’
विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले आपत्कालीन राहतस्वरूप त्रिपाल वितरण गरेको शाखाका उपमन्त्री बिपीन विष्टले जानकारी दिए।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बाढीले पुर्याएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको बताएका छन्।
सदरमुकाम मार्तडीबाट करिब ६ किलोमिटरको दूरीमा रहेको वीरेखोला झरना आन्तरिक पर्यटकको मुख्य गन्तव्य हो। वर्षायाममा बाजुरा र छिमेकी जिल्ला अछामबाट समेत यहाँ फोटो र भिडियो खिच्नेहरूको भीड लाग्ने गर्छ। तर, त्यही सौन्दर्य अहिले स्थानीयका लागि काल बनेर आएको छ।
बस्तीको अगाडि आँगनमै बुढीगङ्गा नदी बग्छ भने पछाडि गाउँको बीचबाट वीरेखोला।
‘अगाडिबाट नदीको कटान छ, पछाडिबाट खोलाले कतिबेला बगाउँछ भन्ने डर,’ स्थानीय मतिकला खड्काले भनिन्, ‘हिजोको मात्र होइन, पटक-पटकको बाढीले खेतबारी बगर बनाइसक्यो। अब कुन दिन घरसँगै हामीलाई नै बगाउने हो पत्तो छैन।’
२०७७ को त्यो घाउ, फेरि उस्तै त्रास
वीरेखोलाका बासिन्दाले बाढीको यस्तो नियति भोगेको यो पहिलोपटक भने होइन। २०७७ साल साउन २५ गते बुढीगङ्गा नदीमा आएको बाढीले यहाँका किसानले पुस्तौंदेखि जोत्दै आएको उर्वर भूमि बगाएर बगर बनाइदिएको थियो।
त्यतिबेला परिवार पाल्ने खेत गुमाएका स्थानीयले अहिले घरबास नै गुमाउने अवस्था आएको बताएका छन्। ‘पहिले खेत गुम्यो, अब घर पनि सुरक्षित रहेन,’ स्थानीय कमला साउँदले भनिन्, ‘कहाँ गएर बस्ने ? हामीसँग अन्त कतै जाने ठाउँ छैन।’
कार्यवाहक वडाध्यक्ष परे बडुवालका अनुसार तत्कालका लागि विस्थापितलाई त्रिपाल र सुरक्षित आश्रय दिइए पनि वीरेखोला र बुढीगङ्गाको दोहोरो कटानबाट बस्ती जोगाउन दीर्घकालीन तटबन्ध र पुनर्वासको व्यवस्था नभएसम्म यो जोखिम सधैंभरि रहिरहनेछ।
प्रकाशित: २० भाद्र २०८३ १८:३५ शनिबार