समाज

चितवनमा बर्ड फ्लू पुष्टि, ३८ हजार बढी कुखुरा नष्ट

चितवनमा ‘बर्ड फ्लू’ संक्रमण देखिएपछि ३८ हजार बढी कुखुरा नष्ट गरिएको छ। खैरहनी नगरापालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि नियन्त्रणका लागि दाना सहित कुखुरा नष्ट गरिएको हो।

पशु सेवा कार्यालय चितवनका अनुसार संक्रमित फार्मबाट ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ। जेठ २३ गते कुखुरामा बर्ड फ्लू संक्रमण भएको पुष्टि भएपछि जेठ २४ गते (आइतबार) बाट कुखुरा नष्ट गर्न सुरु गरिएको कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिए।

उनका अनुसार लगातार तीनदिनसम्म कुखुरा नष्ट गरेपछि मंगलबार फार्म पूर्ण रुपमा सरसफाईगरी ‘सिल’ गरिएको हो। यस्तै सो फार्मबाट १ हजार ४ सय ५ पेटी अण्डा, १२ टन दाना समेत नष्ट गरिएको उनले जानकारी दिए।

‘पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा नमुना पठाएका थियौं। त्यहाँबाट एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान देखिएपछि हामीले तीन दिन लगाएर कुखुरा, अण्डा र दाना नष्ट गरेका हौं’, उनले भने। उनका अनुसार अन्य स्थानमा नमुना सङ्कलन गर्ने काम समेत भइरहेको छ।

यसअघि चैत्र १२ गते भरतपुर महानगरपालिका-४ स्थित एक व्यावसायिक कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि १७ हजार ८७० लेयर्स कुखुरा र नजिकैको अर्को फार्मबाट ९३५ स्थानीय कुखुरा नष्ट गरिएको थियो।

नेपालमा कुखुरामा लाग्ने बर्ड फ्लू ‘एच फाइभ एन वान’ प्रकारको हो। जसको हालसम्म प्रभावकारी उपचार विधि छैन। रोग तीव्र गतिमा अन्यत्र फैलिन सक्ने भएकाले नियन्त्रणका लागि कुखुरा र त्यसले प्रयोग गर्ने दानासमेत नष्ट गरिएको उनले बताए।

सरकारले क्षति न्यूनीकरणका लागि प्रभावित किसानलाई ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरेको छ। यसअघि चितवनमा २०७८ सालमा बर्ड फ्लूको महामारी फैलिँदा करिब ८ लाख कुखुरा नष्ट गरिएको थियो। त्यसपछि पहिलोपटक यस वर्ष पुनः संक्रमण देखिएको हो। नेपालमा पहिलोपटक सन् २००९ मा झापामा बर्ड फ्लू पुष्टि भएको थियो।

हाल झापा, सुनसरी, मोरङलगायतका जिल्लामा पनि बर्ड फ्लू देखिएको छ भने काठमाडौंको कीर्तिपुर क्षेत्रमा कागमा समेत संक्रमण पुष्टि भएको राष्ट्रिय पक्षी रोग अनुसन्धान प्रयोगशालाले जनाएको छ।

यी जिल्लामा हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएको पशु सेवा विभागको तथ्यांकमा उल्लेख छ।

प्रयोगशालाका प्रमुख डा. विजय श्रेष्ठका अनुसार बर्ड फ्लू मुख्यतः कुखुरा, हाँस तथा जंगली चरामा लाग्ने गर्दछ। चराचुरुङ्गीको दिसाबाट समेत सर्ने भएकाले जैविक सुरक्षा उपाय अपनाउन अत्यावश्यक रहेको उनले बताए।

चराचुरुङ्गी, मानिस तथा खोरमा काम गर्ने व्यक्ति, कुखुराजन्य पदार्थ बोक्ने सवारी साधनबाट खोरमा संक्रमण फैलिन सक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।

‘व्यावसायिक फार्मको नेटवर्किङ धेरै हुन्छ। दाना र कुखुरा एउटैमा व्यवसाय गरिएको हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा दाना उद्योगसहित कुखुरा पाल्ने किसानले जैविक सुरक्षाका उपाय अपनाउन जरुरी छ।’

उनले फार्ममा नियमित सरसफाइ, औषधि प्रयोग, जंगली चराको प्रवेश रोकथाम तथा कुनै असामान्य अवस्था देखिए तत्काल नजिकको पशु शाखामा जानकारी गराउन आग्रह गरेका छन्।

हाल संक्रमण सानो समूहमा सीमित रहेको र अन्य क्षेत्रमा फैलिएको पुष्टि नभएको जनाइएको छ। चितवनमा कुखुरा पालन व्यवसाय उद्योगका रूपमा विस्तार भइरहेको अवस्थामा उच्च सतर्कता अपनाउन सरोकारवालाले बताएका छन्।

उनले उपभोगका लागि प्रयोग गरिने मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान आग्रह गरेका छन्। पछिल्लो समय जाडो मौसमसँगै मात्र होइन, चैतदेखि जेठसम्म पनि बर्ड फ्लू देखिन थालेकाले थप सतर्कता आवश्यक रहेको पशु सेवा कार्यालयका प्राविधिक दिपचन्द्र घिमिरेले जानकारी दिए।

कुखुराजन्य क्षेत्रमा नेपालमा ७० अर्ब रुपैयाँभन्दा बढी लगानी छ। जसको आधाभन्दा बढी लगानी चितवनमा रहेको छ। पशु सेवा कार्यालय चितवनको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा चितवनमा एक करोड आठ लाख कुखुरा छन्।

चितवनमा साना–ठूला गरी हजारौं पोल्ट्री फार्म र सयभन्दा बढी ह्याचरी रहेका छन्।

प्रकाशित: २७ जेष्ठ २०८३ १८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App