समाज

राष्ट्रिय सम्मानसहित विपिनको अन्त्येष्टि : बुवाले दिए दागबत्ती, इजरायली झण्डा पनि ओढाइयो

हमासले बन्धक बनाएको अवस्थामा गाजामा मारिएका कञ्चनपुरका विपिन जोशीको महाकाली नदीमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ।

सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएका थिए। अन्त्येष्टिमा सहभागी इजरायली राजदूतले इजरायलको झण्डा ओढाएर पनि सम्मान गरेका थिए।  

उनका वुवा महानन्द जोशीले दागबत्ती दिएका थिए। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ३ भाषीस्थित मालिकार्जुन टोलमा रहेको घरबाट आज मङ्गलवार बिहान ८ बजे शवयात्रा शुरू भएको थियो। शवयात्रामा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

अपहरणमा परेको २ वर्ष १३ दिनपछि सोमवार दिउँसो विपिनको शव नेपाल ल्याइएको हो। फ्लाई दुबईको विमानबाट सोमवार अपराह्न विपिनको शव त्रिभुवन विमानस्थल ल्याइएको थियो।

उनको शव सोमवार साँझ काठमाण्डौबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी विमानस्थलमा ल्याइएको थियो। महाप्रस्थान यान सोमवार राति उनको घरमा पुर्‍याइएको थियो।

सन् २०२३ अक्टोबर ७ तारिखमा इजरायलमा हमासले गरेको आक्रमणमा विपिन जोशी बन्धक बनाइएका थिए। गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु भएको पुष्टि गरेको थियो। इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि हमासले इजरायली सेनालाई विपिनको शव हस्तान्तरण गरेको थियो।

हमासले हस्तान्तरण गरेपछि इजरायलमा विपिनको डीएनए परीक्षण गरेर शव विपिनको भएको पुष्टि गरेको थियो। विपिनको मृत्यु कसरी भएको भन्ने एकिन रूपमा खुल्न सकेको छैन।

यो पनि पढ्नुहोस्

विपिनको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि, ८ जना होनहार विद्यार्थी गुमाएपछि शोकमा सिंगो प्रदेश

प्रकाशित: ४ कार्तिक २०८२ ११:४७ मंगलबार