हमासले बन्धक बनाएको अवस्थामा गाजामा मारिएका कञ्चनपुरका विपिन जोशीको शवयात्रा भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ३ भाषीस्थित मालिकार्जुन टोलमा रहेको घरबाट आज (मंगलबार) बिहान ८ बजेबाट शवयात्रा सुरु भएको हो। महाकाली नदीको भुजेला घाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए। उनले राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने छन्।
सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गर्ने उनले बताए। सबैतिर लक्ष्मीपूजाको बत्ती बलिरहेको बेला सोमवार साँझ विपिन जोशीको शव घरमा पुगेको थियो। जिउँदै आउने आशा बोकेको विपिनको शव घरमा पुगेपछि परिवार शोकमा डुबेको छ। अपहरणमा परेको २ वर्ष १३ दिनपछि सोमवार दिउँसो विपिनको शव नेपाल ल्याइएको हो।
फ्लाई दुबईको विमानबाट सोमवार अपराह्न विपिनको शव त्रिभुवन विमानस्थल ल्याइएको थियो। विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीले उनको शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेकी थिइन्। विमानस्थलमा उनको शवमा मन्त्री, नेपालस्थित इजरायली राजदूतलगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए।
उनको शव सोमवार साँझ काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी विमानस्थलमा ल्याइएको थियो। धनगढीको विमानस्थलबाट महाप्रस्थान यानमा राखेर उनको घरमा पुर्याइएको थियो। नेपालस्थित इजरायली राजदूतावासका अधिकारी पनि शव पुर्याउन घरमा पुगेको विपिनका परिवारका सदस्यले बताएका छन्।
सन् २०२३ अक्टोबर ७ तारिखमा इजरायलमा हमासले गरेको आक्रमणमा विपिन जोशी बन्धक बनाइएका थिए। गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु भएको पुष्टि गरेको थियो। इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि हमासले इजरायली सेनालाई विपिनको शव हस्तान्तरण गरेको थियो।
हमासले हस्तान्तरण गरेपछि इजरायलमा विपिनको डीएनए परीक्षण गरेर शव विपिनको भएको पुष्टि गरेको थियो। विपिनको मृत्यु कसरी भएको भन्ने एकिन रूपमा खुल्न सकेको छैन।
इजरायल गएको ४ सातामै आक्रमणमा परे
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान संकायमा अन्तिम सेमेस्टरमा अध्ययनरत उनी लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत वि.सं. २०८० भदौ २६ गते इजरायल गएका थिए। इजरायलको प्यालेस्टाइनको कब्जामा रहेको गाजा क्षेत्र नजिकै इजरायलको एलोमिन भन्ने स्थानमा रहेको कृषि फार्ममा नेपाली १७ जना विद्यार्थी कार्यरत थिए। हमास लडाकू समूहले आक्रमण गरेपछि बंकरमा लुकेर बसेका विद्यार्थीमाथि लडाकूहरू बंकरभित्रै पसेर ग्रेनेड र गोली प्रहार गरेका थिए।
१७ जना विद्यार्थीमध्ये १० जना विद्यार्थीको मृत्यु भएको थियो। ६ जना घाइते भएका थिए। भने विपिन सम्पर्कविहीन भएका थिए। गाजास्थित अलशिफा अस्पतालमा हिँडिरहेको एउटा भिडियोमा विपिन जोशी देखिएपछि अपहरण भएको पुष्टि भएको थियो। त्यसको एक वर्षसम्म विपिनको बारेमा परिवारले कुनै जानकारी पाएनन्। विपिन जोशी बन्धक अवस्थामा रहेको एउटा भिडियो इजरायली सेनाले सार्वजनिक गरेपछि उनी जिउँदै रहेको आशा पलाएको थियो।
विपिनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी विपिनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बनाउन सुरुमा इजरायल र त्यसपछि अमेरिका पुगेका थिए। जिउँदै फर्कने आशा गरेका परिवारजन विपिन जोशीको शव नेपाल पुगेपछि शोकमा डुबेका छन्। बंकरमा फालिएका दुई ग्रेनेडमध्ये एउटा टिपेर विपिनले बाहिर फालेको त्यहाँ रहेका उनका साथीले बताएका छन्। अर्को ग्रेनेड विस्फोट हुँदा उनका साथीहरू घाइते भएका थिए। विपिन अर्को ग्रेनेड टिपेर फालेर ज्यान बाँचेको बंकरभित्र उनीसँगै रहेका टिकापुरका धनबहादुर चौधरीले बताए।
मारिनेमा ८ जना सुदूरपश्चिमकै
इजरायलमा सुनौलो सपना बोकेका ११ विद्यार्थीले हमासको आक्रमणमा परेर ज्यान गुमाएका छन्। तीमध्ये ८ जना सुदूरपश्चिमकै रहेका छन्। जिउँदो आउने झिनो आशा रहेका विपिनको शव पुगेपछि सुदूरपश्चिम प्रदेश पूरै शोकमा डुबेको छ। कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमेस्टरका उनीहरू १० महिनाका लागि इजरायल गएका थिए। विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो। कृषि विज्ञान संकायले कार्यक्रमअन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको थियो। आर्थिक विपन्न परिवार र मध्यम परिवारमा दुःखजिलो गरी हुर्के पढेका विद्यार्थी सुनौलो भविष्यको सपना साँचेर इजरायल गएको ४ सातामा हमास लडाकूको कहालीलाग्दो आक्रमणको सिकार हुन पुगे।
प्रकाशित: ४ कार्तिक २०८२ १०:३६ मंगलबार