इजरायलमा हमासको आक्रमणपछि बन्धक बनाई मारिएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार उनको शव फ्लाई दुबईको विमानबाट दिउँसो काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइने छ।
अध्ययनका क्रममा इजरायल गएका जोशी २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा परेका थिए। उनको अपहरणपछि २ वर्षसम्म अज्ञात रूपमा राखिएको थियो। इजरायल र हमासबिच युद्धविराम भएसँगै गत असोज २७ गते इजरायली अधिकारीले उनको मृत्यु पुष्टि गरेका थिए। युद्धविराम सम्झौतापछि हमासले उनको शव इजरायली सेनालाई हस्तान्तरण गरी डीएनए तथा फरेन्सिक जाँचबाट उनको अपहरण भएताका नै मृत्यु भएको पुष्टि भएको थियो।
आज विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थलमा सहभागी हुने तयारी रहेको छ।
प्रकाशित: ३ कार्तिक २०८२ ०८:५२ सोमबार