समाज

शव गाड्ने होइन दाहसंस्कार गरौँ भन्दै पुगे विनय जंग

लामो समयदेखि बेवारिसे तथा पहिचान नखुलेका शवको व्यवस्थापन गर्दै आएका विनय जंग बस्नेतले चितवनमा बाढीबाट फेला परेका पहिचान नखुलेका शव सामूहिक रूपमा गाड्ने निर्णयप्रति आपत्ति जनाएका छन्। उनले त्यस्ता शवलाई गाड्नुको सट्टा परम्पराअनुसार दाहसंस्कार गर्न आफू र आफ्नो टोली तयार रहेको बताएका छन्। 

शनिबार चितवन पुगेका बस्नेतले राज्यले शव व्यवस्थापन गर्नुपर्ने अवस्था भए पनि सामूहिक रूपमा खाल्डोमा गाड्ने काम मानवीय दृष्टिले उचित नहुने बताए। उनले प्रहरीको प्रक्रिया पूरा भएका तर पहिचान खुल्न नसकेका शवलाई आफ्नो टोलीले देवघाट वा सम्बन्धित क्षेत्रका घाटमा लगेर दाउरा बालेर सम्मानपूर्वक दाहसंस्कार गर्न सक्ने बताए। 

‘सामूहिक रूपमा १५–२० वटा शव लगेर गाड्ने काम नगरौँ । हामीलाई अनुमति दिनुस्, हाम्रो टिमले दाहसंस्कार गर्छ,’ बस्नेतले भने। उनले आफूले विगत १७ वर्षदेखि बेवारिसे, पहिचान नखुलेका तथा आफन्तको पत्तो नलागेका शवको सद्गत गर्दै आएको बताए। उनका अनुसार हालसम्म ५४ जिल्लामा रहेका शाखामार्फत ७ हजार ७८१ शवको सद्गत गरिएको छ। 

भोटेकोशी नदीमा आएको बाढीपछि ठूलो संख्यामा शव चितवनसम्म बगाएर ल्याइएको र शव राख्ने स्थानको समेत अभाव भएको कारण भरतपुर तथा आसपासका अस्पताल र होल्डिङ क्षेत्रमा शवहरू राखिएका  छन्। बस्नेतले पहिचान नखुलेका शवलाई हतारमा गाड्दा भविष्यमा आफन्तले खोजी गर्न आउँदा समस्या हुन सक्ने भन्दै शवको डीएनए परीक्षण गरेर अभिलेख राख्नुपर्ने र सम्भावित आफन्तलाई पहिचान गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन्। 

‘भोलि डीएनए परीक्षणबाट पहिचान भयो भने आफन्तले आफ्नो मान्छेको शव निकालेर आफ्नै तरिकाले सद्गत गर्न आग्रह गर्न सक्छन्। त्यसैले अहिले नै सामूहिक रूपमा गाड्नु उचित हुँदैन,’ उनले भने। उनले बाढीपछि चितवनमा आफन्तको खोजी गर्दै विभिन्न स्थानबाट मानिसहरू आइरहेको भन्दै उनीहरूलाई शव हेर्ने तथा पहिचान गर्ने अवसरसमेत दिनुपर्ने बताए। 

बस्नेतले राज्यले शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने भए पनि धार्मिक तथा मानवीय संवेदनालाई ध्यान दिन आग्रह गर्दै शव गाड्नैपर्ने अवस्था भए पनि दाउरा बालेर परम्पराअनुसार सामूहिक दाहसंस्कार गर्न सकिने उनले बताए। 

‘मान्छेको मृत्यु भएपछि उसले पाउनुपर्ने सद्गत पाउनुपर्छ । हामी सबै मर्ने हो, तर मृत्यु भएपछि सम्मानपूर्वक अन्तिम संस्कार हुनुपर्छ,’ बस्नेतले भने। 

प्रकाशित: १३ भाद्र २०८३ १८:१६ शनिबार