समाज

तस्करीमा ठूला व्यापारीको ‘कनेक्सन’

नेपाल–भारत सीमाको खुला भूगोलले व्यापारिक सहजता मात्र होइन, एक प्रकारको मौन समानान्तर अर्थतन्त्र पनि चलाइरहेको छ। जसको केन्द्रमा तस्करीको जालो छ। 

नेपालगन्ज–१, बर्दिया बसपार्क नजिकैको मुस्कान ट्रेडर्समा प्रहरीले गरेको पछिल्लो छापा त्यही अदृश्य नेटवर्कको झ्याल खोलेको जस्तै हुन्छ। यहाँ बरामद भएका ३३ हजार नौ सय किलो (एक हजार एक सय ३० बोरा) केराउ केवल एक खाद्य वस्तुको अनधिकृत आयात मात्र होइन, यो संगठित तस्करी चलाउने संरचनाको ‘सिग्नेचर’ हो। जहाँ पैसा, पहुँच, जोखिम र राज्यको कमजोरी एकै ठाउँ मिसिन्छन्।

केराउ नेपाल भित्र्याउन सरकारले प्रतिबन्ध लगाइसकेको छ। सामान्यतया यति ठूलो परिमाण न त जमुनाहजस्तो भीडभाड नाकाबाट चोरिछिपी आउन सक्छ, न अर्को सानो बाटोबाट। त्यसैले प्रहरीले उठाएको शंका, ‘यो सामान कहाँबाट भित्रियो ?’ स्वाभाविक छ। यो वास्तवमै एकीकृत भन्सार जाँच चौकी (आइसिपी) बाटै आफ्नो बाटो बनाउँदै आएको हो भने, प्रश्न केवल एक व्यक्तिमाथि होइन, प्रणालीमै ठोक्किन्छ। कति तहमा आँखा चिम्लिए ? कति ठाउँमा मौन सहमति मिल्यो ? र कति जनाले ‘नदेखेजस्तै’ गरे ?

मुवारक अहमद कवडियाको मुस्कान ट्रेडर्समा फेला परेको यो परिमाण कुनै आकस्मिक जोखिम मोलिएको काम होइन। संगठित तस्करीमा ‘जोखिम’ व्यक्तिगत हुँदैन वितरित हुन्छ। सामान ल्याउने, कागज मिलाउने, भन्सार छुटाउने, गोदाममा राख्ने, बजारसम्म पुर्‍याउने प्रत्येक चरणमा फरक फरक मान्छे जोडिन्छन्। किनभने तस्करी ठूलो परिमाणमा चलाउन ‘नेटवर्क’ चाहिन्छ र नेटवर्क चलाउन ‘नियम कुल्चने क्षमता’। पुलिसले पक्राउ गरेको व्यक्ति मात्रै यस खेलको मुख्य पात्र नभएकाले उनी एउटा महत्त्वपूर्ण कडी भएकोमा शंका छैन। जसले अर्को कडीको अस्तित्व देखाइरहेको छ। 

नेपालगन्जको सीमाक्षेत्र तस्करीका लागि वर्षौंदेखि ‘अनुकूल भूभाग’ मानिन्छ। खुला सीमा, कमजोर निगरानी, राजनीतिक पहुँच र आर्थिक प्रलोभन सबै तत्त्व यहाँ भेटिन्छन्। यतिधेरै केराउ भित्रिएको केसले सामान्य तस्करीको दायरालाई नाघेर एउटा व्यवस्थित, योजनाबद्ध र सम्भवतः ‘संरक्षित’ गतिविधिको संकेत दिन्छ। के भारत–नेपाल दुवैतिरका व्यापारी, ढुवानी समूह, सीमास्तरका कर्मचारी र भन्सार पूर्व–पूर्वतथ्यमा पहुँच राख्ने व्यक्तिहरूबिच लामो समयदेखि बनिरहेको ‘अदृश्य सम्झौता’ सक्रिय छ ? यसले सुरक्षा प्रणालीको तह तहमा रहेको कमजोरीलाई पनि उजागर गर्छ।

एसपी अंगुर जिसीले शंका प्रस्ट रूपमा व्यक्त गरेका छन्, ‘यति धेरै परिमाण एउटै नाकाबाट लुकाएर भित्रिन कठिन छ।’ यसैले यो घटनाले दुई ठूला प्रश्न उठाउँछ पहिलो, तस्करी भित्र्याउने ‘मुख्य ढोका’ कहाँ छ ? दोस्रो, राज्यका नियमनकारी निकायहरू बिच समन्वय कहाँ कमजोर भयो ? आइसिपी झैं कडाइ गर्नुपर्ने संरचनामा अनुगमनमै छिद्र छन् भने तस्करीको जालो त अझ बलियो मात्र हुँदै जाने निश्चित छ।

मुस्कान ट्रेडर्सबाट बरामद गरिएको केराउ तस्करीको ‘एक चरण’ मात्र हो। यसको पछाडि कति लोड भएको छ, कति लोड सफलतापूर्वक बजारमा गइसकेको छ, अनि कति अझै बाटोमै छन् यतिबेला कसैले जान्दैन। यो घटनाले एउटा कुरा भने स्पष्ट बनाइदिन्छ, नेपालगन्ज सीमा क्षेत्रमा तस्करी ‘व्यवसाय’ होइन, ‘संरचना’ बनिसकेको छ। जसलाई भत्काउन प्रहरीको छापा मात्र होइन, भन्सार प्रणालीको पुनर्संरचना, व्यवस्थापनमा पारदर्शिता, नाकामा प्रविधियुक्त निगरानी, र स्थानीय राजनीतिक प्रभावमाथिको अंकुश पनि उत्तिकै आवश्यक छ। यो ३३ हजार नौ सय किलो केराउ तस्करीको एउटा नमूना मात्र हो तर यसले देखाएको जालो धेरै ठूलो छ, धेरै तहमा फैलिएको छ। यस विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

११३० बोरा केराउ बरामद
नेपालगन्ज–१, बर्दिया बसपार्क नजिकै अवस्थित मुस्कान ट्रेडर्सबाट ठूलो परिमाणमा अवैधरूपमा राखिएको केराउ (मटरको दाल) प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार राति सुराकीको आधारमा छापा मारेको प्रहरीले यहाँबाट एक हजार एक सय ३३ बोरो अर्थात् ३३ हजार नौ सय केजी केराउ बरामद गरेको हो।

कानुनी कागजातबिनै भन्सार छली नेपाल भित्र्याइएको ठहरसहित प्रहरीले सञ्चालक मुवारक अहमद कवडियालाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। बरामद गरिएको केराउ नेपालगन्ज भन्सार कार्यालयमा बुझाइसकिएको प्रहरीले जनाएको छ। भारतबाट नेपालमा केराउ ल्याउन सरकारले प्रतिबन्ध लगाइसकेको अवस्थामा यति ठूलो मात्रामा भन्सार शुल्क छलेर भित्र्याइएको भन्दै प्रहरीले यो घटनालाई गम्भीर तस्करीको सम्भावित जालसँग जोडेर हेरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार बरामद भएको केराउ कुनै पनि वैध कागजातबिना गोदाममा राखिएको थियो। प्रहरीले यो घटनालाई पछिल्लो समय सीमा क्षेत्रमा बढ्दै गएको व्यवस्थित तस्करी गतिविधिको उदाहरणका रूपमा लिएको छ। नेपालगन्जलाई भारतीय सीमा नजिकको संवेदनशील व्यापारिक केन्द्र मानिँदै आएको छ, जहाँ भन्सार छली खाद्यान्नदेखि केही प्रतिबन्धित वस्तुसम्म ठूला मात्रामा भित्रिने गरेको सूचनाहरू प्रहरीले पटक–पटक पाउँदै आएको छ। पछिल्लो पक्राउले भन्सार व्यवस्थापन र नाकाका निगरानी प्रणालीप्रति फेरि प्रश्न उठाएको छ।

प्रकाशित: २३ मंसिर २०८२ १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App