समाज

भोटेकोशीमा अझै उच्च जोखिम : नदी थुनिएर बनेको ताल बढ्दै, उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

फाइल तस्बिर

बुधबार बिहान बाढी आएको स्थानमा नदी थुनिएर बनेको तालको पानीको सतह बढिरहेको र ताल फुट्ने जोखिमसमेत देखिएको भन्दै भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान सूचना जारी गर्दै चीन सरकारबाट प्राप्त जानकारी, भू-उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ। उक्त ताल बढ्ने क्रममा रहेकाले फुट्ने जोखिमसमेत देखिएको महाशाखाले जनाएको छ।

अहिले भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि सम्भावित जोखिमलाई ध्यान दिँदै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: १२ भाद्र २०८३ ०९:१२ शुक्रबार