सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ।
बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको रु १७ हजार ५०० दाखिला गरिन्।
योजनाअन्तर्गत ती बालिकाले १८ वर्ष उमेर पूरा नगरेसम्म आमासँगै परिवारमा रहेर मासिक रु १७ हजार ५०० सहायता पाउने छिन्। बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकालाई पनि दीर्घकालीन संरक्षण र भरणपोषणको व्यवस्था गरिने मन्त्री बादीले बताइन्।
उनले विपद् प्रभावित बालबालिकालाई सहयोग गर्ने नाममा कुनै पनि व्यक्ति वा संस्थाले आफूखुसी अन्यत्र लैजान नपाउने स्पष्ट पारिन्। स्थानीय तहको सिफारिस तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय र सहमतिबिना बालबालिकालाई संस्थागत संरक्षणका नाममा बालगृह वा अस्थायी संरक्षण केन्द्रमा लैजान नपाइने उनले बताइन्।
बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर मात्रै उद्धार, संरक्षण र पुनःस्थापनाको काम अघि बढाइने उल्लेख गर्दै उनले उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास र मनोसामाजिक अवस्थालाई समेत ध्यान दिएर सरकारले दीर्घकालीन योजना कार्यान्वयन गरिरहेको जानकारी दिइन्।
राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआइटिजीएफको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरीलाई लक्षित गरी विशेष सहायता कार्यक्रम सञ्चालन गरिएको हो। मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकालाई एमआइटीजिएफ, एसओएस चिल्ड्रेन भिलेजलगायत साझेदार संस्थाको सहकार्यमा संरक्षण तथा स्याहार सेवा उपलब्ध गराइनेछ।
परिषद्का सदस्यसचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँच टोली गत सातादेखि बाढी प्रभावित क्षेत्रमा बालबालिकाको अवस्था पहिचान, मूल्याङ्कन तथा दीर्घकालीन स्याहार योजना निर्माणमा परिचालित छन्। स्थलगत अध्ययनका क्रममा गोल्जुङबेसीकी सुत्केरी र नवजात शिशुको अवस्था उच्च जोखिमपूर्ण देखिएपछि मन्त्री बादीले रकम प्रदान गरेकी हुन्।
मन्त्री बादीका अनुसार विभिन्न साझेदार संस्थामार्फत हालसम्म ८१० जना बालबालिकाको दीर्घकालीन स्याहारका लागि सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। जसअनुसार एमआइटिजीएफमार्फत १५०, एसओएस चिल्ड्रेन भिलेजमार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० जना बालबालिकालाई सहयोग गरिनेछ।
मन्त्रालयको बालकोषमा रु सात करोड रहेको र बाढी प्रभावित बालबालिकाको संरक्षण तथा स्याहारका लागि एमआइटिजीएफ र नेपाल सरकारबीच रु ५८ करोड बराबरको सम्झौता भइसकेको मन्त्री बादीले बताइन्।
प्रकाशित: ११ मंसिर २०८३ १०:५१ शुक्रबार