समाज

भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भइरहेको छ श*व व्यवस्थापन

रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण ठुलो धनजनको क्षति भएको छ। बाढीले रसुवा, नुवाकोट र धादिङमा ठुलो असर गरेको छ। यसबिचमा अहिले सुरक्षा निकाय उद्धार, खोज र राहतमा जुटिरहेका छन्।

यद्यपि बाढीमा परेर निधन भएकाहरूको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल बाढीमा निधन भएकाको शव विभिन्न अस्पतालमा पुर्‍याइएको छ भने यो क्रम जारी छ।

प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म फेला परेका ५७९ मध्ये ५११ जनाको शव विभिन्न अस्पतालमा पुर्‍याइएको छ। जसअनुसार रसुवामा फेला परेका तीन शव जिल्ला अस्पताल धुन्चे, रसुवामा राखिएको छ।

साथै धादिङमा संकलन गरिएका २७ शव पोखरा र १० शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। नुवाकोटमा फेला परेका ३८ शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। चितवनमा फेला परेका १७१ शव जिल्ला अस्पताल भरतपुरमा, चार शव नेशनल सिटी अस्पताल, दुई शव भरतपुर सामुदायिक अस्पताल, दुई शव नारायणी अस्पताल र ४१ शव औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा राखिएको छ।

तनहुँमा फेला परेका शवमध्ये नौ शव मणिपाल अस्पताल पोखरा, पाँच शव प्रादेशिक अस्पताल दमौली र १४ शव गण्डकी अस्पताल पोखरामा राखिएको छ। गोरखामा भेटिएका शवमध्ये २९ प्रदेश अस्पताल गोरखामा, ११ शव गण्डकी अस्पताल पोखरा र चार शव नुप अस्पताल गोरखामा राखिएको छ।

नवलपरासी सुस्ता पूर्वमा भेटिएका शवमध्ये ६ मध्यविन्दु नगर अस्पताल चोरमारामा, ३६ गैँडाकोट नगर अस्पतालमा, २२ मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा, चार शव जिल्ला अस्पताल पाल्पा, दुई मिसन अस्पताल पाल्पा, दुई लुम्बिनी अस्पताल पाल्पा र ४१ गण्डकी अस्पताल पोखरामा राखिएको छ।

पश्चिम नवलपरासीमा फेला परेका शवमध्ये ८ पृथ्वी चन्द्र अस्पताल परासी, ११ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देही, तीन शव भीम अस्पताल भैरहवा र ६ शव पिपरा अस्पताल कपिलवस्तुमा राखिएको प्राधिकरणले जनाएको छ। अन्य शवलाई पनि पायक पर्ने अस्पतालमा लैजाने काम भइरहेको र भेटिएका शव संकलन गरी सम्बन्धित स्थानमा पुर्‍याउने कार्यसमेत भइरहेको प्राधिकरणको भनाइ छ। रासस

प्रकाशित: १३ भाद्र २०८३ ०६:४२ शनिबार