समाज

भोटेकोशी बाढी : ‘र्‍यापिड एक्सन टिम’ गठन, खोज तथा उद्धार तीव्र

रसुवास्थित भोटेकोशी नदीमा आज बिहान गएको भीषण बाढीलगत्तै खटिएको ‘र्‍यापिड एक्सन टिम’को तीव्र सक्रियताका कारण उद्धार तथा राहत सहजीकरण प्रभावकारी भएको छ।

बाढीको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा छुट्टाछुट्टै उच्चस्तरीय एक्सन टिम गठन गरी बिहानैदेखि खोजी तथा उद्धार सुरु गरिएको थियो।

टिमले स्थानीय नागरिक, स्थानीयवासी र जनप्रतिनिधिसँग पहिलो चरणमा प्रत्यक्ष संवाद स्थापित गर्दै काम अघि बढाएको थियो।  

त्यसपछि स्थानीय तहका कर्मचारी, प्रदेश तहका कर्मचारी तथा प्रतिनिधिहरू र केन्द्रीय तहका कर्मचारी एवं प्रतिनिधिहरूसँग व्यापक सहजीकरण र समन्वय गरी एकीकृत रूपमा कार्य सम्पादन गरेको छ।

टिमले गठन हुनासाथ सम्पूर्ण सञ्चार च्यानलहरू प्रयोग गरी प्रभावित क्षेत्रको वास्तविक अवस्था पत्ता लगाएको थियो। सोही तथ्याङ्कका आधारमा खोज तथा उद्धारका लागि तत्कालै आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको थियो।

यसका साथै टिमले सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावित जिल्लाका सुरक्षित अस्पतालका साथै काठमाडौंका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र रक्तसञ्चार केन्द्रहरूलाई उच्च सतर्कता (स्ट्यान्डबाई) मा राखिएको छ।

यता प्राधिकरणमा गृहमन्त्री सुधन गुरुङ, गृहसचिव र सुरक्षा निकायका प्रमुखहरूसहितको टोलीले भिडियो प्रविधिमार्फत प्रत्यक्ष जानकारी लिँदै तत्कालै स्वास्थ्यकर्मी र सुरक्षा टोली परिचालन गरी उद्धार कार्यलाई थप प्रभावकारी बनाएको छ।

प्रकाशित: १० भाद्र २०८३ १७:२९ बुधबार