रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका छन्।
रूसी विदेश मन्त्रालयका अनुसार बिहीबार उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहलाई छुट्टाछुट्टै सन्देश पठाउँदै रसुवाको भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन्। पुटिनले प्राकृतिक प्रकोपबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनले सन्देशमा भनेका छन्, ‘तपाईंको देशको उत्तरपूर्वी क्षेत्रमा पहिरो र बाढीबाट भएको ठूलो जनधनको क्षति र गम्भीर विनाशप्रति मेरो गहिरो समवेदना स्वीकार गर्नुहोस्।’ उनले थप भनेका छन्, ‘हामी नेपालका मित्रवत जनताको दुःखमा साझा छौं। ज्यान गुमाउनेहरूका परिवार र प्रियजनहरूप्रति मेरो हार्दिक समवेदना व्यक्त गर्दछु। साथै, यस प्राकृतिक प्रकोपमा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
यसैगरी, पुटिनले चीनको तिब्बत स्वायत्त क्षेत्रमा पहिरोबाट भएको क्षतिप्रति पनि समवेदना व्यक्त गरेका छन्। उनले चीनका राष्ट्रपति सी जिनपिङलाई पठाएको सन्देशमा प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेका परिवारप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रकाशित: १२ भाद्र २०८३ ०८:४४ शुक्रबार