समाज

भोटेकोशी बाढी : पीडा भुलाउँदै नागरिकको दुःखमा सँगै प्रहरी

भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण संयन्त्र प्रयोग गरी प्राप्त जिम्मेवारीलाई पूरा गर्न नेपाल प्रहरी निरन्तर लागि परिरहेको छ।

रसुवास्थित नेपाल–चीन सीमाबाट बाढी प्रवेश गरेलगत्तै सूचना सङ्कलन एवम् विश्लेषण, आवश्यक रणनीति अवलम्बन, उपलब्ध साधनस्रोत, दक्ष जनशक्ति एवम् प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी तटीय क्षेत्रसम्म प्रहरी अहोरात्र खटिइरहेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार भोटेकोशी विपद्को व्यवस्थापनमा सात हजार ९१२ प्रहरी परिचालन भएका छन्।

प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढी प्रभावित क्षेत्रबाट छ हजार ८५३ जनाको उद्धार गरिएको छ। हालसम्म पाँच हजार १५ जना बेपत्ता छन्।

खोज उद्धारमा कुकुर र ‘ड्रोन क्यामेरा’

प्रहरीले बाढीमा परी हराइरहेकाको खोज तथा उद्धारका लागि विशेष टोली नै परिचालित गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले भन्छन्, ‘हेडक्वार्टरमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ गठन गरी चौबिसै घण्टा अनुगमन भइरहेको छ।’

उक्त केन्द्रमा सम्पर्कविहीन आफन्तको खोज तथा उद्धारका लागि आफन्तका परिवारको फोन आउने गरेको र सोही विवरणअनुसार खोजीका लागि सम्बन्धित प्रहरी युनिटमा जनाकारी गराउँदै आइरहेको उनी सुनाउछन्।

हालसम्म एक हजार ३५१ पटक केन्द्रमा आफन्तको खोज र उद्धारका लागि अनुरोध प्राप्त भएको छ।

प्रभावित क्षेत्रमा केनाइन (तालिम प्राप्त कुकुर) तथा जटिल भौतिक संरचनामा ड्रोनको प्रयोग गरी खोजी जारी छ।

ड्रोन क्यामेराको सहयोगमा केही दिनअघि नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला पारिएको थियो।

यसैगरी, यहाँस्थित विभिन्न देशका दूतावास, कूटनीतिक नियोगका साथै अन्य विदेशी संस्थालाई मृतक तथा बेपत्ता विदेशी नागरिकका बारेमा सूचना आदनप्रदानका लागि प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘मिसिङ हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको छ।

 प्रभावित क्षेत्रमा उद्धार र खोजी अभियानसँगै पहिचान हुन नसकेका शव र मानव अङ्गको व्यवस्थापन ‘फोरेन्सिक’ विशेषज्ञको सहयोगमा जारी छ।

प्रहरी प्रवक्ता काफ्ले सङ्कलित शव बढ्दै गइरहेको र त्यसबाट सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम देखिएकाले शवको व्यवस्थापनमा वैज्ञानिक विधि अवलम्बन गरिएको बताउँछन्।

बाढीपछि हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डिएनए परीक्षणमार्फत फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रियाका लागि महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा ‘डिएनए प्रोफाइलिङ’को काम भइरहेको छ।

आपराधिक घटनाप्रति कडा निगरानी

विपद्को मौका छोपी हुनसक्ने आपराधिक घटनाप्रति प्रहरीले कडा निगरानी बढाएको छ। विस्थापितका खाली घरको सुरक्षा तथा विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रणमा समेत प्रहरी निरन्तर लागि परेको छ।

सुरक्षाकर्मी खोज तथा उद्धारमा व्यस्त रहेको मौका छोपी लुटपाट, चोरी गर्ने जस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्न गस्ती एवं निगरानीलाई बढाइएको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए।

विपद्को समयमा राहत सङ्कलनका नाममा हुन सक्ने ठगी नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको उनको भनाइ छ।

‘सामाजिक सञ्जालमार्फत प्रवाह भएका गलत सूचना, अफवाह, भ्रामक समाचारलगायत सामग्रीप्रति पनि निगरानी बढाइएको छ’, प्रवक्ता काफ्लेले भने, ‘विपद्को समयमा गलत सूचना फैलाएर नागरिकमा भ्रम सिर्जना गर्ने वा राहत तथा उद्धारमा अवरोध पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइनेछ।’

स्वास्थ्य उपचार, राहत र सचेतना अभिवृद्धि

बाढी प्रभावित क्षेत्रमा घाइते भएका व्यक्तिको स्वास्थ उपचारमा समेत प्रहरी अग्रसर छ।

नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सक टोली सुरुआती दिनदेखि नै घाइतेको स्वास्थ्य उपचारमा निरन्तर लागि परेका छन्।

घाइतेलाई सामान्य अवस्थामा ल्याउन र विनाशकारी बाढीको कारण उत्पन्न हुन सक्ने मानसिक तनावलाई न्यूनीकरण गर्न प्रहरी अस्पतालको विशेषज्ञ टोली क्रियाशील रहेका छन्।

पछिल्लो तथ्याङ्क अनुसार प्रहरीले बाढी प्रभावित क्षेत्रमा कुल ९२ वटा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ। सचेतना कार्यक्रमहरूमा ४१ हजार २५७ जना सहभागी भएका छन्।

विपद् प्रभावित रसुवा, नुवोकोट र धादिङका ‘होल्डिङ सेन्टर’मा महिला तथा बालबालिकाविरूद्ध दुव्र्यवहार र हिंसालगायत घटना हुन नदिन महिला प्रहरी परिचालित गरिएको छ।

उनीहरूले महिला तथा बालबालिकासँग सम्बन्धित समस्या एवम् गुनासाहरू सम्बोधन गर्दै आवश्यक मनोपरामर्श पनि प्रदान गर्दै आइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

विस्थापितको दैनिकी सहज बनाउने प्रयास जारी

प्रहरीले स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रका नागरिकको दैनिकीलाई सहज बनाउन सहजीकरण गरिरहेको छ।

बाढीले हिल्लाम्मे भएका विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, विस्थापित नागरिकका घरमा सरसफाइ तथा मर्मतसम्भारमा प्रहरी टोली जुटेको देखिन्छ।

प्रहरीले बाढीका कारण विभिन्न ठाउँमा अवरोध भएका सडकको समयमै सूचना प्रवाह गर्ने र वैकल्पिक मार्गहरूको सूचना प्रवाह गरी यात्रुलाई सहजीकरण गरिरहेको प्रवक्ता काफ्ले बताउँछन्।

पीडा भुलाउँदै नागरिकको दुःखमा सँगै प्रहरी

प्रहरी नायब महानिरीक्षक काफ्लेले जस्तोसुकै परिस्थितिमा पनि नागरिकको साथमा रहेर प्रहरी आफ्नो कर्तव्यपथमा अडिग रहेको बताउँछन्।

‘आफ्नो दुःख–पीडा भुलाउँदै नागरिकलाई नै सर्वोपरि मानेर उनीहरूको हरेक दुःखमा साथ दिँदै प्रहरी अघि बढिरहेको छ’, उनी भन्छन्।

यसपटकको बाढीबाट प्रहरी सङ्गठनले पनि भौतिकसँगै मावनीय क्षति व्यहोरेको छ। बाढीको सूचनासँगै नागरिकको जीउधनको सुरक्षामा खटिइएका २५ जना नेपाल प्रहरी अहिलेसम्म सम्पर्कविहीन छन्।

नायब महानिरीक्षक एवं प्रवक्ता काफ्ले बाढी प्रभावित क्षेत्रमा ठूलो मात्रामा थुप्रिएको हिलो, माटो, ढुङ्गा एवम् पुनः बाढीको जोखिमका बीच नागरिकको दैनिक जीवनयापनलाई सहजीकरण गर्न मातहतका जनशक्ति अहोरात्र खटिरहेको स्मरण गर्छन्।

‘प्रभावित क्षेत्रमा खोज तथा उद्धार, सम्पर्कविहीनको खोजी, शव व्यवस्थापन, राहत वितरण, आपराधिक गतिविधि नियन्त्रण र विस्थापितको जीउधनको सुरक्षालगायत बहुआयमिक चुनौतीको सामना गर्दै आफ्नो कर्तव्य पूरा गर्न नेपाल प्रहरी अग्रसर छ’, उनले भने।

प्रकाशित: २१ भाद्र २०८३ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App