समाज

भोटेकोशी बाढी : आजै ४१ हवाई उडान, सुरुङबाट २७९ सहित आठ हजार ७३० जनाको उद्धार

फाइल तस्बिर

भोटेकोशी बाढीपछि उद्धार अभियान तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ३६३ वटा हवाई उडान भएका छन् भने विभिन्न माध्यमबाट आठ हजार ७३० जनाको उद्धार गरिएको छ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्। नेपाली सेनाले दुई हजार ९७४, नेपाल प्रहरीले दुई हजार ६९९ र सशस्त्र प्रहरीले तीन हजार ५७ जनाको उद्धार गरेका छन्।

जलविद्युत आयोजनाका सुरुङबाट २७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। नेपाली सेनाले हेलिकप्टरमार्फत २३६ विदेशी र दुई हजार ८४५ नेपालीको उद्धार गरेको छ। आइतबार मात्रै ४१ वटा हवाई उडान भएका छन्।

बाढीमा हालसम्म ७५२ जनाको मृत्यु भएको छ भने २३९ जना घाइते भएका छन्। त्यस्तै दुई हजार ५०२ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन भएका छन्। प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ।

राहतका लागि हालसम्म ३७ ट्रक र १३ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। हेलिकप्टरबाट ८ वटा उडान गरी राहत सामग्रीसमेत प्रभावित क्षेत्रमा पुर्‍याइएको छ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा ३६ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल र १० हजार लिटर हवाइ इन्धन मौज्दात रहेको छ। हालसम्म २९ हजार लिटर हवाइ इन्धन खपत भएको छ।

पहिचान खुल्न नसकेका शव विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएका छन्। सम्पर्कविहीन विदेशी नागरिक, विदेशमा रहेका नेपाली, उपचाररत व्यक्ति तथा हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिको विवरण प्राधिकरणको वेबसाइटमा उपलब्ध रहेको प्राधिकरणले जनाएको छ।

May be an image of map and text

प्रकाशित: १४ भाद्र २०८३ १४:२९ आइतबार