समाज

भोटेकोशी बाढी : नेपाल र चीनमा ७९७ को मृत्यु, तिब्बतमा १०४ नेपालीसहित दुवैतिर तीन हजार बढी सम्पर्कविहीन

फाइल तस्बिर

नेपाल र चीनमा आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७९७ पुगेको छ।

नेपालतर्फ ७८१ र चीनको तिब्बततर्फ १६ जनाको मृत्यु पुष्टि भएको हो। बाढी तथा पहिरोका कारण नेपाल र चीनमा गरी तीन हजार ४८ जना अझै सम्पर्कविहीन छन्। नेपालतर्फ दुई हजार ५०२ जना र चीनतर्फ ५४६ जना सम्पर्कविहीन रहेका छन्।

रसुवाको भोटेकोशी बाढीपछि दुवैतर्फ खोज, उद्धार तथा राहत अभियान तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट नौ हजार ४३५ जनाको उद्धार गरिएको छ। नेपालमा फेला परेका ७८१ शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९९, नवलपरासी पश्चिममा १०० र तनहुँमा ३७ जना रहेका छन्। यस्तै, चितवनमा विभिन्न मानव अंगसहित २७२ शव फेला पारिएको छ।

खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका सात हजार ८९४, नेपाली सेनाका आठ हजार ५२१ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्।

नेपालतर्फ सम्पर्कविहीन दुई हजार ५०२ जनामध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना छन्। त्यस्तै, रसुवाबाट ५६२, नुवाकोटबाट ११५, जलविद्युत आयोजनाबाट ९३३ र मकवानपुरबाट ६५ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

नेपाल र चीनमा गरी एक हजार १३८ विदेशी नागरिक सम्पर्कविहीन छन्। नेपालतर्फ ५९२ जना विदेशी नागरिक सम्पर्कविहीन छन् भने तिब्बतमा ५४६ जना सम्पर्कमा आउन सकेका छैनन्। चीनतर्फ सम्पर्कविहीन ५४६ जनामध्ये २३ देशका २६१ जना विदेशी नागरिक पनि रहेका छन्।

तिब्बततर्फ सम्पर्कभन्दा बाहिर रहेका २६१ जना विदेशी नागरिकमध्ये सबैभन्दा धेरै नेपालका १०४ जना छन्। त्यसपछि भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८ र बेलायतका १५ जनालगायत रहेका छन्।

चिनियाँ अधिकारीहरूका अनुसार नेपालतर्फ पनि १०० जना चिनियाँ नागरिक पनि सम्पर्कविहीन छन्।

प्रकाशित: १५ भाद्र २०८३ ०६:३८ सोमबार