भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा ६४४ पर्यटक बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा १२७ नेपाली र ५१७ विदेशी पर्यटक छन्। बुधबार बिहान रसुवा, नुवाकोट, धादिङ र गोरखाका भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था र सुरक्षाबारे जानकारी लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सरोकारवाला निकायले काम गरिरहेका छन्।
बोर्डले बिहीबार दिउँसो १२ बजेसम्मको विवरणअनुसार ३३ देशका पर्यटक बेपत्ता भएको जनाएको छ। नेपालीबाहेक सबैभन्दा धेरै भारतका १७८ जना छन्। त्यसपछि अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना छन्।
यस्तै जर्मनीका ८, रुसका ८, लाटभियाका ६, दक्षिण अफ्रिकाका ६, जापानका ५, न्युजिल्यान्डका ५, फ्रान्सका ४, बेल्जियमका ३ र स्पेनका ३ जना बेपत्ता छन्।
इटाली र आयरल्यान्डका २-२ जना तथा बेलारुस, बुल्गेरिया, फिनल्यान्ड, हंगेरी, इजरायल, कजाकिस्तान, लिथुआनिया, नेदरल्यान्ड्स, फिलिपिन्स, पोर्चुगल, सर्बिया, स्विडेन र स्विट्जरल्यान्डका १-१ जना बेपत्ता छन्। सिंगापुरका ९ जना बेपत्ता रहेको बोर्डको विवरणमा उल्लेख छ।
ट्रेकिङ तथा ट्राभल कम्पनीबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा ६४४ पर्यटक प्रभावित क्षेत्रबाट बेपत्ता भएको पहिचान भएको बोर्डले जनाएको छ। उनीहरूको विवरण सम्बन्धित ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर पुष्टि तथा अद्यावधिक गर्ने काम भइरहेको छ।
आपत्कालीन अवस्थाका लागि टोल फ्री नम्बर १२३४ र हटलाइन नम्बर ११४४ मा सम्पर्क गर्न सकिनेछ। पर्यटक प्रहरीले ९८५१२८९४४५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
बोर्डले प्रभावित क्षेत्रमा रहेका पर्यटकलाई नजिकको प्रहरी वा सुरक्षा निकाय, स्थानीय प्रशासन, ट्राभल एजेन्सी, गाइड वा टुर अपरेटरसँग सम्पर्क गर्न आग्रह गरेको छ। साथै शान्त रहन, आधिकारिक सूचनामा ध्यान दिन र सुरक्षा निर्देशन पालना गर्न भनेको छ।
प्रकाशित: ११ भाद्र २०८३ १२:४४ बिहीबार