रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीमा परेका ६२६ जनाको शव फेला परेको छ भने दुई हजार ४२६ जना सम्पर्कविहीन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो। फेला परेका ६२६ वटा शवमध्य रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१ र चितवनमा २३३ जना रहेका छन्।
प्राधिकरणका अनुसार बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी कुल १५ हजार २२४ जना सुरक्षाकर्मी खटाइएका छन्। विभिन्न स्थानबाट जम्मा चार हजार ४५१ जनाको उद्धार गरिएको छ, जसमध्ये १९१ जनालाई जलविद्युतको सुरुङबाट र ५१७ जनालाई हवाई उद्धार गरिएको हो। उद्धार कार्यका लागि नेपाली सेना र निजी गरी १६ वटा हेलिकप्टरमार्फत ९९ वटा हवाई उडान गरिएको छ। साथै, बाढीमा परेका १२९ जना विदेशी नागरिकको पनि उद्धार गरिएको छ।
सम्पर्कविहीन हुनेहरूमा नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, रसुवाका ५६२, नुवाकोटको ११५, जलविद्युत आयोजनाका ९३३, मकवानपुरका ६५ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना रहेका छन्। यसैगरी, ५१७ जना विदेशी नागरिक र नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिक पनि सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा राहत र पुनरुत्थानको काम पनि अघि बढाइएको छ। प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक र हेलिकप्टरबाट ७ वटा उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाउनुका साथै सञ्चार सेटहरू समेत वितरण गरिएको छ। बाढीले १९८ वटा टेलिफोन टावरमा क्षति पुर्याएकोमा मर्मतपछि १४५ वटा सञ्चालनमा आइसकेका छन्।
प्रकाशित: १३ भाद्र २०८३ ११:०७ शनिबार