समाज

भाेटेकाेशी बाढी: कालीकोटका ६ जना अझै सम्पर्कविहीन

फाइल तस्वीर

रसुवा लगायतका जिल्लाहरूमा २०८३ भाद्र १० गते बिहान आएको बाढीका कारण कालीकोट जिल्लामा स्थायी ठेगाना भई रोजगारी तथा व्यवसायका क्रममा त्यहाँ पुगेका ६ जना नागरिक सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रशासन कार्यालय कालीकोटले सूचना जारी गर्दै सम्पर्कमा नआएका व्यक्तिहरूको नामावली र विवरण सार्वजनिक गरेको हो।

सम्पर्कविहीन हुनेहरूमा पलाँता गाउँपालिका वडा नं. ०२ का २२ वर्षीय लक्ष्मण परियार छन्। उनी जागिरको सिलसिलामा रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. ३ मा थिए।

यस्तै नरहरिनाथ गाउँपालिका वडा नं. ०१ स्थायी घर भई माथिल्लो त्रिशूली ३ जलविद्युत् आयोजनामा सवइन्जिनियरका रूपमा कार्यरत २८ वर्षीय अनिपाल विष्ट र २४ वर्षीय धीरेन्द्र विष्ट पनि अझै सम्पर्कमा छैनन्।

यस्तै खाँडाचक्र नगरपालिका वडा नं. ०५ का तीन सदस्य - टिमुरे हेल्पपोस्टमा कार्यरत २८ वर्षीया सरिता मल्ल, उनका ४ महिनाका छोरा काव्य शाही र सरिताकी नन्द २४ वर्षीया दुर्गाकुमारी शाही पनि अझै सम्पर्कमा आएका छैनन्।

सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार सम्पर्कविहीन नागरिकहरूको शीघ्र खोज तथा उद्धारका लागि रसुवाको स्थानीय प्रशासन र सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय बताएका छन्।

प्रकाशित: १४ भाद्र २०८३ ११:२० आइतबार