भोटेकोशी खोलाको बाढीपछि बारा र पर्साका ३१ जना सम्पर्कविहीन भएका छन् । रसुवा, नुवाकोट लगाएतको बाढी प्रभावित जिल्लामा विभिन्न कामले गएका बिहीबार दिउँसो ३ बजेसम्म पनि सम्पर्कमा नआएको बारा र पर्सा जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सम्पर्कमा नआएकाहरुको बारेमा उनीहरुको परिवारका सदस्यले जानकारी दिएको बारा र पर्साका जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईले बाराका भोटेकोशी बाढीबाट सम्पर्कविहीन भएका विभिन्न स्थानीय तहहरुका १५ जना भएको जानकारी प्राप्त भएको बताए ।
उनीहरूको परिवारले खोजविन गर्न र सम्पर्कमा ल्याउन सहयोगका लागि जिल्ला प्रशासनसँग अनुरोध गरेको भट्टराईले बताए । त्यस्तै पर्साबाट गएका १६ जना बाढीपछि परिवारको सम्पर्कमा नआएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।
बारा र पर्साबाट त्यस क्षेत्रमा विभिन्न काम र जागीरको लागि गएर सम्पर्क बिहिवार भएकाहरुको संख्या बढ्ने क्रममा रहेको बताईएको छ। निजगढ नगरपालिका–९ निवासी ट्रक कन्टेनर चालक दिनेश परियार पनि सम्पर्कविहीन छन् ।
परियार रसुवा जिल्लाबाट सामान ढुवानी गरी फर्किने क्रममा रहेको र हाल सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
प्रकाशित: ११ भाद्र २०८३ १७:०० बिहीबार