भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको अनुसार गए रातिसम्म तीन हजार २९ जनालाई रसुवा र नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको हो। तीमध्ये नेपाली नागरिक दुई हजार सात सय ७६ जना र विदेसी दुई सय ५३ जना छन्।
पछिल्लो चौबिस घण्टामा छ सय २४ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले जानकारी दिए। 'बाढीबाट ज्यान जोगाइ सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेकालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो,' प्रजिअ रेग्मीले भने, 'उनीहरूको स्वास्थ्य जाँच गरेर उपचार आवश्यक पर्नेलाई सोही अनुसार स्वास्थ्य संस्थामा सिफारिस गरिएको छ भने बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको छ।'
भोटेकोशी बाढीमा अलपत्र परेलाई उद्धारअन्तर्गत जलविद्युत् आयोजनाको सुरुङभित्र रहेको भनिएका बाहेकको उद्धार जारी छ। तर रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका स्थानमा अझै केही फसेको हुन सक्छ भनेर नियमित रूपमा हेलिकप्टरमार्फत रेकी भइरहेको प्रजिअ रेग्मीको भनाइ छ।
यसैगरी, भोटेकोशी बाढीमा परेर हराएको जनाउँदै आइतबारसम्म एक हजार पाँच सयभन्दा बढी व्यक्तिको परिवारको निवेदन परेको छ। नुवाकोट र रसुवाको विभिन्न स्थानबाट आफ्नो मान्छे हराएको जनाउँदै खोजतलासका लागि एक हजार पाँच सय ५८ जनाको निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।
उनका अनुसार हराएका व्यक्तिको खोजतलासका लागि नेपाल प्रहरीको वेबसाइड, जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय र श्री नं १ सैन्य तालिम केन्द्र विदुरमा निवेदन दिन सकिन्छ। हराइरहेका तथा बाढीमा फसेकालाई खोज तथा उद्धारमा हेलिकोप्टर, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको सहयोगमा संयुक्त सुरक्षा फौजको टोली सक्रिय रहेको छ।
बाढीमा परेर ज्यान गुमाएकामध्ये हालसम्म नुवाकोटमा ९५ जनाको शव सङ्कलन भएको छ। जिल्लाको विभिन्न ३० स्थानमा सयुक्त सुरक्षा टोली परिचालनमार्फत गरिएको खोज तथा उद्धारमार्फत ती शव सङ्कलन गरिएको हो। सङ्कलन भएको शवलाई पहिचानको लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ। शवलाई नुवाकोटबाट परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा पठाएकाले सम्बन्धित परिवारलाई अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ। रासस
प्रकाशित: १५ भाद्र २०८३ ०८:०९ सोमबार