रसुवामा बाढीमा परी सम्पर्कविहीन भएका नेपाल अरनिको यातायात सेवा प्रालिका २९ जना मजदुर अझै बेपत्ता छन्।
काठमाडौंको जडीबुटीमा प्रधानकार्यालय रहेको उक्त कम्पनीका १८ वटा बस पनि बाढीमा बेपत्ता भएका उक्त प्रालिका कार्यालय प्रमुख विकास लामाले जानकारी दिए।
पर्यटक लिएर रसुवा गएका तथा पर्यटक लिएर फर्किने क्रममा रहेका बस बाढीमा परेको उनले बताए।
‘पर्यटक लिएर गएका र कोही पर्यटक लिएर फर्किन लागेको अवस्थामा भोटेकोशी बाढीमा परी हाम्रा १८ बस र २९ मजदुर हालसम्म बेपत्ता छन्। खोजी कार्य जारी छ,’ प्रमुख लामाले भने।
उनका अनुसार बाढीमा परी चालकसहित प्रालिका कुल ३३ जना मजदुर बेपत्ता भएका थिए। तीमध्ये तीन जना सम्पर्कमा आएका छन् भने एक जनाको बाढीमा परी मृत्यु भएकामा निजको शव पनि फेला परेको छ।
बाढीमा परी बेपत्ता भएका बसमा कति नेपाली तथा कति जना विदेशी नागरिक थिए भन्ने बारे पनि यकिन नरहेको जनाइएको छ।
प्रालिले आफ्ना चालक तथा मजदुरको शीघ्र खोजी तथा उद्धार गरी सकुशल घर फर्काउन पहल गरिरहेको छ।
बाढीपछि विभिन्न निकायको समन्वयमा खोजी तथा उद्धार कार्य जारी रहँदा पनि प्रालिका बेपत्ता व्यक्तिको यकिन अवस्था अझै खुल्न नसकेको जनाइएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले भोटेकोशी बाढीमा परी बेपत्ता भएका मजदुर र सवारीसाधनको खोजी र उद्धारमा महासङ्घ लागि परेको बताए।
उनले भने, ‘बाढीमा दजनौँ सवारीसाधन र मजदुर बेपत्ता छन्। हामी खोजीमा लागिपरेका छौँ।’
अध्यक्ष सिटौलाले बाढीमा परेर बेपत्ता भएका सवारीसाधन तथा मालबाहक सवारीसाधनको बैङ्किङ फाइनान्स लगायतका किस्ता रकम तिनुपर्ने बाध्यता भएकाले तत्कालका लागि त्यो बाध्यता रोकिदिन सरकारसँग आग्रह पनि गरे।
प्रकाशित: २५ भाद्र २०८३ १६:५६ बिहीबार