गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तर सनाखत हुन नसकेका २८१ जनाको शवलाई भविष्यमा पहिचान खुले परिवारलाई बुझाउन मिल्ने गरी वैज्ञानिक रूपमा व्यवस्थापन गरिएको छ।
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम र डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरेपछि ती बेवारिसे शवलाई काठमाडौंको गोकर्णेश्वरमा सुरक्षित रूपमा गाडिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार विपद् प्रभावित रसुवा, धादिङ र नुवाकोटबाट सङ्कलन गरी ल्याइएका ती शवहरूलाई गोकर्णेश्वर नगरपालिका-७ स्थित दक्षिणढोका वन क्षेत्रमा व्यवस्थापन गरिएको हो।
भविष्यमा डिएनए रिपोर्ट वा अन्य प्रमाणका आधारमा सनाखत भएमा सम्बन्धित परिवारलाई शव उत्खनन गरी हस्तान्तरण गर्न सकिने गरी प्रहरीले सम्पूर्ण विवरण र नमुना सुरक्षित राखेको छ।
शव व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउन विशेष प्रकारको ‘एयरटाइट ब्याग’ प्रयोग गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए।
उनका अनुसार प्रत्येक ब्यागमा छुट्टाछुट्टै ट्याग नम्बर राखिएको छ। सोही ट्याग नम्बर र सङ्कलित डिएनए नमुनाको अभिलेखका आधारमा कुन शव कसको हो भनेर भविष्यमा सजिलै पहिचान गर्न सकिनेछ।
बाढीमा परी ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानबाट फेला परेका, तर तत्काल पहिचान हुन नसकेका शवहरू काठमाडौं ल्याइएको थियो।
हाल पहिचान हुन बाँकी सबै शवको डिएनए नमुना सुरक्षित राखी अनुसन्धान र सनाखतको प्रक्रिया निरन्तर अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित: ४ आश्विन २०८३ १९:४० आइतबार