भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेला परेको छ। यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन्।
प्रहरी प्रधान कार्यालय नक्सालको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५३० पुरुष, ३२८ महिला तथा ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ८२७ पुरुष र ५६७ महिला छन्। यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष, २३९ महिला सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनकार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। फेलापरेका शवमध्ये एक हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
बाढीपछि हालसम्म नौ हजार १५९ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तीन हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए।
बेपत्ता व्यक्तिको पहिचान तथा फेलापरेका शवको सनाखत गर्न डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक एक हजार १८१ जना र मृतकका आफन्त एक हजार १९५ जना गरी दुई हजार ३७६ जनाको डिएनए नमूना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन्।
प्रकाशित: २२ भाद्र २०८३ ०६:५३ सोमबार