भोटेकोशी-त्रिशूली बाढीमा ज्यान गुमाएर कास्की ल्याइएका शवहरूमध्ये पहिचान हुन नसकेका ७६ वटा शवलाई पोखरामा गाडेर व्यवस्थापन गरिएको छ।
गाड्ने अन्तिम तयारी भइरहेकै बेला दुईवटा शवको पहिचान खुलेपछि बाँकी ७६ शवलाई पोखरा महानगरपालिका-१६ मा खाल्डो खनेर समाधिस्थ गरिएको हो।
कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार बाढीले बगाएर तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायतका जिल्लामा भेटिएका कुल १०२ वटा शवलाई परीक्षण तथा पहिचानका लागि कास्की ल्याइएको थियो। तीमध्ये यसअघि २१ वटा शवको मात्र सनाखत भएको थियो।
सनाखत नभएका ७८ वटा शवलाई एकसाथ व्यवस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेका बेला आफन्तजन सम्पर्कमा आएर थप दुईवटा शवको पहिचान भएको एसपी कार्कीले जानकारी दिए।
एसपी कार्कीले भने, ‘हामीले पहिचान नखुलेका ७८ वटा शव व्यवस्थापन गर्न लागेका थियौं। तर, अन्तिम समयमा दुईवटा शवको पहिचान भएपछि बाँकी रहेका ७६ वटा शवलाई पोखरा-१६ मा खाल्डो खनेर सुरक्षित रूपमा गाडेर व्यवस्थापन गरेका छौं”
पहिचान खुलेका २३ वटा शव आफन्तको जिम्मा लगाइएको छ। गाडिएका ७६ वटा शवको हकमा पनि आवश्यक फरेन्सिक तथा पहिचानसम्बन्धी प्रमाण सुरक्षित राखिएको र आफन्तहरूबाट प्राप्त हुने हुलिया, तस्बिर तथा अन्य प्राविधिक प्रक्रियाबाट सनाखत गर्ने कार्य निरन्तर जारी रहने प्रहरीले जनाएको छ।
प्रकाशित: १६ भाद्र २०८३ १५:५७ मंगलबार