म्याग्दीको धौलागिरि गाउँपालिका-१ गुर्जाका रेशम छन्त्यालले परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन गरेका छन्।
घुम्ती गोठमा भेडापालन गर्ने पेसाको विकल्पमा मौरीपालन गरेका ४४ वर्षीय छन्त्याल स्वरोजगार र आत्मनिर्भर बनेका हुन्। ‘हिउँद, बर्खा, झरीबादल नभनी भेडाबाख्राको पछि लागेर लेकबेँसी गर्नुभन्दा घर वरपरकै बारीमा घार थापेर मौरीपालन गर्दा आफू र परिवारलाई सजिलो छ’, उनले भने, ‘हाल ८० घर मौरी छन्। प्रतिलिटर रु दुई हजारका दरले वार्षिक ३०० लिटर मह उत्पादन गरेर घरबाटै बिक्री गर्छु।’
छन्त्यालका बुबा र बाजेले परम्परागत रुपमा भेडापालन गर्दै आएका थिए। रोजगारीको खोजीमा केही वर्ष खाडीमुलुक बिताएका रेशमले करिब १५ वर्ष गाउँमै भेडापालन गरेका थिए। उनले आठ वर्षअघि भेडा बेचेर मौरीपालन गर्न थालेका थिए।
घरमै रहेको स्थानीय ‘एपी सेरेना’ जातको मौरीको चार/पाँच वटाबाट घार छुट्टाएर २०० वटासम्म बनाएको उनले बताए। ‘जङ्गलमा महशिकार गरिने, हावापानी र मौसम अनुकूल भएकाले मौरीपालनलाई रोजेको हो’, उनले भने, ‘मौरीको आनीबानीको बारेमा जानकार भएकाले घार विस्तार गर्न समस्या भएन।’
सामाजिक सञ्जाल ‘युट्युब’ मा कृषि विज्ञहरुको भनाइबाट प्रभावित भएर मौरीपालन गरेका छन्त्यालले हालसम्म सरकारी निकाय तथा गैरसरकारी संस्थाबाट तालिम र अनुदान सुविधा नलिएको बताए। गुर्जाका साथै मौरी चराउन लाछावाङमा पनि लैजाने गरेका छन्।
ग्राहक घरमै आउने भएकाले मह बिक्रीका लागि समस्या नभएको छन्त्यालले बताए। अधिक वर्षा र हिमपातका समयमा चरनको अभाव हुँदा मौरीलाई महनै आहारा दिने गरेका छन्। वरपरका वनजङ्गल र खेतबारी मौरीको चरन क्षेत्र हुन्।
धेरै जाडो र फूल नफुल्दा मौरीलाई आहारा व्यवस्थापनमा समस्या हुने गरेको उनको अनुभव छ। जङ्गली जनावर भालु र मालछेपारोको आक्रमणबाट मौरीलाई जोगाउनु अर्को चुनौती रहेको छ। भौगोलिक विकटताका कारण बागलुङमा रहेको आन्तरिक राजस्व कार्यालयमा पुगेर फर्म दर्ता तथा पान नम्बर लिन नपाएको छन्त्यालले गुनासो गरे।
हालै सडक सञ्जालमा जोडिएको धौलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले घुम्ती शिविर आयोजना गरेर मौरीपालक किसान रेशमसहितका उद्यमी, कृषक र व्यवसायीलाई दर्ता, करको दायरा, तालिम र अनुदान सुविधामा जोड्न पहल गरिने बताए। रासस
प्रकाशित: १२ जेष्ठ २०८३ ०८:०८ मंगलबार