मानव अस्तित्वको रक्षा र निरन्तरताका लागि खाना पहिलो अनिवार्य सर्त हो। भोक मेट्नु प्राकृतिक धर्म हो भने उचित खाना छान्नु र खानु मानवीय विवेक हो तर आजको आधुनिक सभ्यतामा विवेकभन्दा जिब्रोको स्वाद बढी शक्तिशाली भएर निस्किएको छ, जसले गर्दा मानिस आफ्नो स्वास्थ्यप्रति चरम लापरबाह बन्दै गएको देखिन्छ। ‘धेरै खाई मल, थोरै खाई बल’ भन्ने हाम्रा पुर्खाको लामो अनुभवबाट खारिएको उखानलाई आधुनिक मानिसले रद्दीको टोकरीमा फालिदिँदा आहार नै व्याधिको मूल कारण बन्न पुगेको छ। तसर्थ विवेकहीन खानपानले गर्दा नै आजको मानव जीवन ऊर्जाशील हुनुको सट्टा रोगको घर बनिरहेको छ।
हाम्रो शरीर एउटा यस्तो सूक्ष्म र संवेदनशील जैविक यन्त्र हो, जसलाई स्वस्थ राख्न सधैं शुद्ध र प्राकृतिक इन्धनको आवश्यकता पर्छ। विडम्बना त के छ भने मानिस आफूले चलाउने निर्जीव बाइक वा कारमा पेट्रोल हाल्न प¥यो भने मिसावट नभएको पम्प खोज्दै सहर चहार्छ तर आफ्नै अमूल्य शरीरलाई भने संसारभरका अखाद्य वस्तु विसर्जन गर्ने ‘डम्पिङ साइट’ बनाएको पत्तै पाउँदैन। यो विरोधाभासपूर्ण व्यवहारले आजको मानिसलाई सुविधाभोगी त बनाएको छ, सँगसँगै शरीरभित्र फोहोरको थुप्रो जम्मा गरेर अल्पायु पनि बनाइरहेको छ। आफ्नो सवारी साधनको इन्धनमा सचेत हुने मानिसले आफ्नै शरीरमा विष हालिरहनु आजको सबैभन्दा ठुलो विडम्बना हो। यसले मानिसको बाह्य चेतना र आन्तरिक विवेकबिचको भयानक खाडललाई उजागर गर्छ।
स्वस्थ र दीर्घजीवी जीवनको एउटा सरल सूत्र छ– खाना सकेसम्म प्रकृतिले पकाएको खानू, त्यो सम्भव नभए आफ्नै भान्सामा पाकेको खानू तर कारखानामा तयार पारिएको चाहिँ कदापि नखानू। प्रकृतिले सूर्यको ताप र माटोको सामीप्यमा पकाएका फलफूल र कन्दमूलहरू अमृत समान हुन्छन् भने आफ्नै भान्सामा प्रेम र शुद्धतासाथ तयार पारिएको भोजनले शरीर र मन दुवैलाई पोषण दिन्छ तर आजकल ठ्याक्कै उल्टो भइरहेको छ, मानिस प्रकृतिको काखबाट टाढिएर विज्ञापनको चमकधमकमा भुलिँदै प्लास्टिकका खोलभित्र कैद गरिएका रसायनयुक्त ‘प्रोसेस्ड’ खानालाई आधुनिकताको पर्याय ठान्न थालेको छ। यो उल्टो यात्राले हाम्रो शरीरलाई जैविक प्रणालीबाट रासायनिक भण्डारमा परिणत गरिदिएको छ। प्रकृतिको शुद्धता छाडेर कारखानाको कृत्रिमता रोज्नु नै मानव स्वास्थ्यका लागि आत्मघाती कदम साबित भएको छ।
पूर्वीय दर्शनले खानपानलाई केवल पेट भर्ने भौतिक प्रक्रिया मात्र नमानी यसलाई एउटा पवित्र साधना र योगको रूपमा व्याख्या गरेको छ। ऋताहार (ऋतुअनुसारको खाना), हिताहार (हितकारी खाना) र मिताहार (ठिक्क मात्रामा खाइने खाना) का शास्त्रीय मान्यताहरू आजको आधुनिक विज्ञानले समेत पुष्टि गरेका स्वास्थ्यका अकाट्य तथ्य हुन्। तर, आजको समाजमा यी आदर्श कुराहरू केवल किताबी पानामा सीमित छन्। मानिसको मनोविज्ञान ‘खाइसार कि लाइसार, मरेपछि लम्पसार’ भन्ने उच्छृङ्खल र घातक दर्शनबाट निर्देशित हुन थालेको छ। रुघाखोकी लाग्दा वा शरीर अस्वस्थ हुँदा समेत ‘मलाई त जे खाए पनि केही हुँदैन’ भन्दै जिब्रोलाई मन अचारमा मरिहत्ते गर्ने र ‘हेरेर मर्नुभन्दा छेरेर मर्नु जाती’ भन्ने सोचले मानिसलाई संयमको घेराभन्दा बाहिर पुर्याएको छ। आफ्नै स्वास्थ्यप्रति उत्तरदायी नभई जे पायो त्यही खाएर आनन्द मान्ने प्रवृत्तिले मानिसलाई अन्ततः अस्पतालको बेड र मृत्युको नजिक पुर्याइरहेको छ।
सामाजिक संरचनाको पाटो हेर्ने हो भने भोजभतेर, पिकनिक र जमघट हाम्रो संस्कृतिको अभिन्न अंग बनिसकेको छ। हुन त भोजभतेर सबै जात विशेषको हुन्छ र यस विषयमा कुनै वर्गलाई मात्र लक्षित गर्नु न्यायोचित हुँदैन तर कतिपय समुदायमा यसको प्रभाव सामाजिक दबाबकै रूपमा देखा पर्छ। भोजभतेरलाई बिस्तारै कम गर्दै जाने अनि यसलाई मितव्ययी र सरल बनाउने विषयमा कसैले पनि कुरा उठाउन चाहँदैनन्।
आखिर जसले पनि एक पेट खानु हो। खानु भनेको स्वास्थ्य बिगार्नका लागि नभएर स्वस्थ रहनका लागि हो। त्यसैले कुनै पनि भोजमा स्वादिला र गरिष्ठ भन्दा पनि गुनिला र सुपाच्य खानेकुरा हुनुपर्ने हो तर आजको सामाजिक प्रतिष्ठाको मानक नै कुन भोजमा कति थरीका परिकार थिए भन्नेमा केन्द्रित छ। भोजभतेरहरू अचेल सामाजिक सद्भाव बढाउने थलो नभएर स्वादको मजा लिने मैदानजस्ता भएका छन्। त्यहाँ प्रायः स्वास्थ्यका मापदण्डलाई पूर्णतः बेवास्ता गरी चिल्लो, पिरो र चिनीको अत्यधिक मात्रा भएका परिकार तयार गरिएको हुन्छ। कुनै पार्टी प्यालेसमा आयोजित बिहेभोजमा पेय पदार्थसहितको स्न्याक्स लिँदैमा अघाइसकेको मान्छे फेरि डिनरका लागि लाइन लाग्छ। त्यहाँ फिँजाइएका माछामासुका परिकार एउटै नबिराइकन थालमा चुल्याएर लिँदै घाँटीसम्म हुने गरी खाएको मान्छेलाई पक्कै पनि ‘फुड पोइजन’ होला। जे होस्, ऊ जसोतसो घर पुगेर रातभरि तिर्खाउँछ, शौचालय धाउँछ। कतिलाई त बिहान अस्वस्थ भएर अस्पताल जानुपर्ने अवस्था पनि आउन सक्छ। त्यस्तो नभए पनि पेटमा भएको बाहिर नगएसम्म शरीर भारी भइरहन्छ। कतिपय भोज खाएपछि बिरामी भएका घटना पनि छन्। यसरी स्वास्थ्यको कुनै परवाह नगरी केवल स्वाद र ‘सित्तैमा पाएको’ लोभमा खाइने भोजको भोजनले शरीरलाई गाह्रो बनाउँछ। बिहेव्रतबन्धको लगन–साइत धेरै भएको महिनामा त झन गाह्रो हुने नै भयो।
जिब्रोको स्वाद नै मानिसको सबैभन्दा ठुलो र अदृश्य शत्रु बनेको छ, जसले क्षणिक आनन्दका लागि सारा जीवनलाई कष्टकर बनाइदिन सक्छ। स्वाद केवल केही सेन्टिमिटर लामो जिब्रोमा मात्र सीमित हुन्छ, तर यसको विषालु असर शरीरका अर्बौं कोषिकाले लामो समयसम्म भोग्नुपर्छ। अस्पतालका बेडहरू भाइरस वा व्याधिले भन्दा बढी मानिसको अनियन्त्रित भान्सा र जिब्रोको दासताका कारण भरिइरहेका छन् भन्ने तथ्यलाई हामीले आत्मसात् गर्न सकेका छैनौं । रोग लागेर थलिएपछि मात्र मानिसमा अलिकति चेत खुल्छ तर त्यतिबेलासम्म शरीरले आफ्नो धेरै जैविक क्षमता गुमाइसकेको हुन्छ। जिब्रोको क्षणिक तृप्तिका लागि सारा शरीरलाई सास्ती दिने मूर्खतापूर्ण व्यवहार नै आजको विश्वव्यापी स्वास्थ्य संकटको जड हो। कसरत नगर्ने तर खान नहुने बढी खानेकुरा खाएरै त होला, कतिपय खानदानी परिवारका र उच्च तहका मानिसहरू आजकल हार्ट अट्याक भएर बित्ने गरेका छन्।
अन्त्यमा खाना मानिसको बाँच्ने आधार मात्र हुनुपर्छ, यसलाई नै जीवनको अन्तिम साध्य बनाउनु कदापि बुद्धिमानी होइन। भनिन्छ– ‘मानिस खान नपाएर होइन, खान नजानेर मर्छ।’ शरीरलाई अखाद्य वस्तुको विसर्जन केन्द्र बनाउन छाडेर यसलाई एउटा पवित्र मन्दिरका रूपमा सम्मान गर्दै ‘जिउनका लागि खाने’ संस्कारको विकास गर्नु आजको अनिवार्य आवश्यकता हो।
जबसम्म हामी जिब्रोको स्वादलाई मस्तिष्कको विवेकले र विज्ञापनको मोहलाई प्रकृतिको नियमले नियन्त्रण गर्न सक्दैनौं, तबसम्म हामी आफ्नै दाँतले आफ्नै चिहान खनिरहेका हुनेछौं। स्वादभन्दा माथि उठेर स्वास्थ्यलाई सर्वोपरि ठान्ने दृष्टि नै सुखी र दीर्घजीवी जीवनको एक मात्र मार्ग हो। तसर्थ जिब्रोको दास बन्न छाडेर शरीरको स्वामी बन्ने संकल्प गरौं।
प्रकाशित: २१ चैत्र २०८२ १२:१७ शनिबार