समाज

दसैं खर्चको जोहो गर्न गिटी कुट्दै

कालीकोटको रास्कोट नगरपालिका-८ फुकोटका देउराम लुवार र उनकी पत्नी होइजाली लुवार दसैंतिहारको जोहो गर्न गिटी कुटिरहेका छन्। यतिबेला घरघरमा दसैं भित्रिसक्दा पनि उनीहरू दसैं खर्चको जोहोमा लागेका हुन्।

रास्कोट नगरपालिकाबाट फुकोट गाउँमा भौतिक पूर्वाधार निर्माण कार्य सुरु गरेपछि उनीहरूलाई गिटी कुट्ने काम मिलको छ। उनीहरू गिटी कुटेरै यसपालिको दसैं–तिहार मनाउने तयारीमा छन्।

‘दसैं आइसक्यो, घरमा खानेकुरा केही छैन् त्यसकै लागि खर्च जोहो गर्न अहिले गिटी कुट्दै छु।’ देउराम लुवारले भने, ‘बिहानै उठेर ढुंगा जोहो गरेपछि दिउँसो गिटी कुट्ने काम सुरु हुन्छ। छोराछोरी हेर्दैनन्। दसैं खर्च कसरी जोहो गर्ने हो?’

‘दसैंमा मिठो खानेकुरा खान, राम्रो लुगा लगाउन मन त कसको हुन्न र? तर मन मारेर बस्नुपरेको छ। माछामासु महिनामा मात्र खाने हो’, उनकी पत्नी होइजाली लुवारले भनिन्। ‘नयाँ लुगा किन्न दसैं–तिहार नै कुर्नुपर्छ। महँगी बढ्दै गएकाले खर्च पु¥याउन कठिन छ।’

उनले गाउँमा गिटीको मूल्य एकदम कम भएको गुनासो गरिन्। यसका लागि आफूहरूको परिश्रम खेर नजाने गरी अब कुनै पनि निकायले गिटीको मूल्य निर्धारण गरिदिनुपर्ने उनको माग छ। पछिल्लो समय कालीकोटका गाउँ–गाउँमा समेत सडक सञ्जाल विस्तार हुन थालेपछि न्यून आय भएका परिवारका महिला गिटी कुट्ने पेसामा आबद्ध भएका हुन्।

कर्णाली राजमार्गले छोएको कालीकोटका नगरपालिका तथा गाउँपालिकाका अधिकांश खोला किनार तथा विभिन्न ठाउँमा यहाँका महिलाले गिटी कुटेरै जीविकोपार्जन गर्दै आएका छन्। गिटीको मूल्य प्रतिट्याक्टर चार हजारदेखि पाँच हजार तथा प्रतिबोरा एक सय रुपैयाँका दरले बिक्री हुने गरेको स्थानीय बताउँछन्।

कालीकोटका अधिकांश युवाको पेट पाल्नकै निमित्त भारत जानुपर्ने बाध्यता पहिल्यैदेखि उस्तै छ। स्थानीय सरकारले गाउँका स्थानीयलाई सहज हुने गरी काम गर्नुको साटो जमिन मासेर सडक निर्माणका लागि डोजर चलाउँछ।

गाउँमै काम गर्ने वातावरण नमिलेपछि युवाजति घर छाडेर विदेश जानुको अर्को विकल्प नभएको पचालझरना गाउँपालिकाका स्थानीय प्रकाश शाहीले बताए। उनका अनुसार घरको उत्पादनले वर्षभरि खान नपुग्ने भएकाले पनि युवाहरू घर–व्यवहार चलाउन अन्य जिल्ला र विदेशसम्म पुगेका छन्।

प्रकाशित: १० आश्विन २०८२ ०९:३९ शुक्रबार