बेलायतको राष्ट्रिय प्रसारण संस्था बीबीसीले आफ्नो वार्षिक बजेटको करिब १० प्रतिशत बचत गर्न आगामी दुई वर्षभित्र करिब २ हजार कर्मचारी कटौतीको योजना सार्वजनिक गरेको छ।
यो कदमलाई एक दशकयताकै सबैभन्दा ठूलो रोजगारी कटौतीको रूपमा लिइएको छ। बीबीसीले कर्मचारीहरूसँगको बैठकमा निर्णयबारे जानकारी गराएको हो।
कार्यवाहक महानिर्देशक रोड्री ताल्फान डेभिसले कर्मचारीलाई पठाएको सन्देशमा आर्थिक चुनौतीबारे खुला रूपमा जानकारी दिन चाहेको बताएका छन्। उनले बढ्दो मुद्रास्फीति, लाइसेन्स शुल्क र व्यावसायिक आम्दानीमा आएको दबाब तथा अस्थिर विश्व अर्थतन्त्रका कारण यस्तो निर्णय लिनुपरेको उल्लेख गरेका छन्।
यसअघि पनि बीबीसीले सन् २०२९ सम्ममा आफ्नो बजेटको करिब एक दशांश घटाउने योजना सार्वजनिक गरेको थियो। तीमध्ये अधिकांश कटौती सन् २०२७ अप्रिल १ देखि सुरु हुने आर्थिक वर्षमै लागू गरिने बताइएको छ।
यसैबीच, पूर्वगुगल कार्यकारी माट ब्रिटेन रोड्री डेभिसलाई विस्थापित गर्दै आगामी महिनादेखि बीबीसीको नयाँ महानिर्देशक बन्ने तयारीमा छन्। डोनाल्ड ट्रम्पको जनवरी ६, २०२१ को भाषणसम्बन्धी एक डकुमेन्ट्रीमा भ्रामक सम्पादन भएको विवादपछि डेभिससँगै समाचार प्रमुख डेब्रोह टर्नेसले पनि राजीनामा दिइसकेका छन्। उक्त घटनापछि ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब डलरको मानहानी मुद्दा दायर गरेका छन्।
बीबीसी बेलायतका घरधुरीहरूले तिर्ने वार्षिक लाइसेन्स शुल्कबाट सञ्चालन हुने संस्था हो, जुन हालै बढाएर १८० पाउन्ड बनाइएको छ।
प्रकाशित: ३ वैशाख २०८३ १५:५२ बिहीबार



