समाज

बाढीपीडित नेपाललाई बंगलादेशको १५ करोड २० लाख सहयोग

बंगलादेश सरकारले उत्तरी नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि १ मिलियन अमेरिकी डलर (करिब १५ करोड २० लाख रुपैयाँ) सहयोग गर्ने भएको छ।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको पत्रसहित राज्य विदेशमन्त्री हुमायुन कबिरले नेपालका लागि बंगलादेशी सहयोगबारे नेपाली राजदूत घनश्याम भण्डारीलाई जानकारी गराएका हुन्। सहयोग रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइनेछ।

यसअघि बंगलादेशको राष्ट्रिय संसद्ले अगस्ट २७ मा नेपालमा भएको विपद्प्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो। साथै बंगलादेशका विदेशमन्त्री खलिलुर रहमानले नेपाली समकक्षी शिशिर खनालसँग टेलिफोन वार्ता गर्दै आवश्यक सबै सहयोग गर्न बंगलादेश तयार रहेको बताएका थिए।

बंगलादेश दूतावासले उक्त सहयोगले नेपाल र बंगलादेशबीचको दीर्घकालीन मित्रता र आपसी सद्भाव अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ।

 

प्रकाशित: १९ भाद्र २०८३ २१:१७ शुक्रबार